२०७९ कात्तिक १९ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताउनुभएको छ । शनिवार काठमाडौं क्षेत्र नम्बर १ मा आम मतदाताहरुसँग घरदैलो कार्यक्रममा मतदाताहरुले आफूलाई पानी र सरकारी सेवाहरुको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताउनुभएको हो । उहाँले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरुले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरु सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताउनु भयो । काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको गुनासो आम नागरिकले गरेको बताउनु भयो । उहाँले यसअघिका दुई निर्वाचन संविधान लेख्नमा लागेको र संधिवान जारी गरिसकेपछि कार्यान्वयन गर्ने बेलामा काँग्रेसले जनमत नपाएकाले व्यवस्थित हुन नसकेको भन्दै आगामी निर्वाचनपछि काँग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताउनु भयो । नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले यस वर्ष विगतको निर्वाचनको भन्दापनि राम्रो
प्रतिक्रिया पाएको छु । यो भन्दा अघिका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएको छु । उत्साह छ सबैमा । यो क्षेत्रको समस्या भनेको पानीको छ, कहिले आउँछ मेलम्चीको पानी
भनिरहेका छन् । अर्को कुरा संघीयता जारी गर्नुभयो तर संघीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौँ, यो कारणले विभिन्न सेवासुविधाहरुमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो । व्यवस्थापनमा
ख्याल गर्नुहोला भन्नुभएको छ । दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो, काँग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौँ तर कार्यान्वयन गर्ने बेलामा काँग्रेसले नेतृत्व पाएन । जनताको मत पाएकाले गर्न सकेनन् । अब हामी कार्यान्वयनमा जाने हो । तीन तहको सरकारलाई संविधानको मर्म अनुसार जे अधिकार दिलाउनुपर्ने हो कानून बनाएर हाम िदिलाउनेछौँ । ५ दलको गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि हो । हामीले राजनीतिक स्थिरता ल्याउन जरुरी छ । जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्छ । संविधानको रक्षा भएपछि स्थिरता आउँछ स्थिरता भएपनि देशको विकास निर्माणको कार्यले गति लिन्छ र हरेक नेपालीको जीविकोपार्जन सहज हुन्छ ।’

नेता सिंहले देशमा विकास गर्नका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको भन्दै संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गर्नुभयो । उहाँले देशमा राजनीतिक स्थिरता कायम गरी हरेक नेपालीको
जीविकोपार्जन सहज बनाउन जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here