काठमाडौं १८ कात्तिक ।
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रिय कारगार पठाइएको छ । शुक्रवार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतले थुनछेक बहसमा प्राप्त प्रमाणलाई आधार मानेर क्रिकेटर लामिछाने निर्दोष हुन् भन्ने कुनै आधार नभएकाले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको सन्दीप पक्षधर अधिवक्ता सुधा रिजालले बताउनु भयो । उहाँले जिल्ला अदालतबाट न्याय नपाएपछि अबको दिनमा उच्च अदालत जानसक्ने बताउनु भयो । उहाँले थुनछेक बहसका प्रमाणहरु अहिले अध्ययन नहुने भएकाले पुर्पपक्षका लागि कारागार पठाइएको तर अदालतले कारागार पठायो भन्दै सन्दीप दोषी नै छन् भन्नसक्ने स्थिति नरहेको जिकिर गर्नुभयो ।त्यस्तै अर्का अधिवक्ता यज्ञमणि न्यौपानले बलात्कारको आरोप लागेका व्यक्तिहरु उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै निर्णयलाई स्वीकार गरिसकेको नजिर रहेकाले सन्दीप पक्षधर वकीलहरुले यसबारेमा सल्लाह गरेर अघि बढ्ने बताउनु भयो । उहाँले नेपालको संविधान पुरानो भएकाले त्यसलाई परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुरानो ऐन, कानूनले गर्दा छुट्ने व्यक्तिहरु पनि बाध्यतावश कारागारमा जान बाध्य भइरहेकाले आम मानिसहरुमा नेपालमै बस्ने वा बाहिर जाने भन्ने मानसिकता आउने गरेको उल्लेख गर्नुभयो ।
क्रिकेटर लामिछानेले गत भदौं ५ गते राति काठमाडौंस्थित एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै नाबालिकाको तर्फबाट भदौ २१ मा प्रहरीमा उजुरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछानेबिरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले गत सोमवार लामिछानेबिरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन माग दाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।








