काठमाडौं,७,फागुन ।

नेपाली कांग्रेससका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याएको टिप्पणी गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्छु भनेर राजनीतिक भागवण्डा नै गरेको आरोप लगाएका हुन् ।विश्वविद्यालयको नेतृत्व चयनदेखि नै त्रिभुवन विश्वविद्यालयमा सुधार गर्नुपर्नेमा प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको थापाले बताए ।‘अहिले खुला प्रतिस्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो । जसकारण परिणाम एउटै आउने भयो । झुक्याइयो । अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्यूलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैं झुक्किरहनुभएको छ । मौकाको सदुपयोग नगर्नु भनेको आफैं झुक्किनु हो’, उनले भने ।विश्वविद्यालय सुधार गर्न उपकुलपति नियुक्तिदेखि नै ध्यान दिनुपर्ने र यसपटक राम्रो अवसर आउँदा पनि गुम्न लागेको महामन्त्री थापाले बताए । उनले प्रधानमन्त्रीले चाहेमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने धारणा राखे ।

‘म यसरी भागबण्डा गर्दिन, म नेतृत्व चयन ठीक ढंगले गर्छु भनेर अहिले पनि उहाँले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ । अहिले पनि खोजेर ल्याएको उपकुलपति बनाउन सक्नुहुन्छ । यो अधिकार कानुनले दिएको छ । अझै पनि उहाँको गर्ने इच्छाशक्ति छ भने यो बिन्दुबाट पनि उहाँले सच्याउन सक्नुहुन्छ’ ।महामन्त्री थापाले अगाडि भने, ‘सच्याउनुभएन र भागबण्डा नै गर्नुभयो भने भोलि गएर उहाँले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुपर्‍यो भन्नेकुराको कुनै पनि तुक रहँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here