सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–११ डुडेगैरीमा आइतबार राति जंगली हात्तीले ४ घर भत्काएको छ । वडाध्यक्ष कुमार लामाका अनुसार जंगली हात्तीले डुडेगैरीको मुसहर समुदायको चारघर भत्काउनुका साथै अन्न र फलफूल समेत नष्ट गरेको छ ।
स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको वडाध्यक्ष लामाले जानकारी दिए । मध्यरातमा हात्ती बस्तीमा छिरेपछि स्थानीयको भागाभाग भएको थियो । जंगली हात्तीले यसअघि २४ घर भत्काएको छ । यो समेत माथिल्लो पत्रिङ्गा र डुडे गैरीमा २८ घर भत्किएको छ । जंगली हात्तीले घर भत्काएपछि पीडित परिवारको बिचल्ली भएको समेत वडाध्यक्ष लामाले जनाए ।
सुरुमा घर भत्काएका १८ परिवारलाई रेडक्रस र दुधौली नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, त्रिपाल सहयोग गरेको छ । बाँकी पीडित परिवार छिमेकीको घरमा शरण लिएका छन् । जंगली हात्ती नजिकैको जंगलमा रहेकाले अहिले पनि त्रास उत्तिकै छ । स्थानीय रातभर धुनी जगाएर बस्ने गरेका छन् । दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउत दिनहुँ हात्तीले घर भत्काएपछि स्थानीयमा त्रास छाएको बताउँछन् । डिभिजन वन कार्यालयलाइ हात्तीको वासस्थानमातर्फ धपाउनका लागि पहल गर्न अनुरोध गरिएको उनले जनाए ।
डिभिजन वन प्रमुख थीरबहादुर कार्की जंगली हात्तीलाई आफ्नो बासस्थानमा सुरक्षित स्थानान्तरण गर्नका लागि निकुञ्जसँग पहल भइरहेको बताउँछन् । गतवर्ष पनि हात्तीले दुधौली नगरपालिकाको विभिन्न वडामा दुई दर्जन बढि घर भत्काएर क्षति पुर्याएको थियो ।







