रौतहट,५,फाल्गुन |
रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो । झडपमा केही स्थानीय घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए । उनकाअनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए । शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो ।जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको बताए ।‘अहिलले अनिश्चितकाल सम्मको लागि कर्फ्यू आदेश जारी भइसकेको छ,‘ उनले भने,‘यहाँको स्थिति अनकुल छैन । हामी स्थिति नियन्त्रणमा लिँदै दुवै पक्षलाई सम्झाउने प्रयास गरिरहेका छौँ।’झडपमा दुबै पक्षका मानिसहरु घाइते भए पनि प्रहरीले यसबारे जानकारी दिएको छैन । घट्नास्थलमा नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र शाहसमेत पुगेका छन् ।मूर्ति सेलाउने बिषयमा झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस गाउँमा पछिल्लो ५ बर्ष देखि मूर्ति सेलाउने बिषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।








