भजनी (कैलाली), ११ पुस |
पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । अतिक्रमण हटाएर मर्मतसम्भार भएको विमानस्थलमा परीक्षण उडानसमेत भएको थियो ।परीक्षण उडानपछि गौचरनमा सीमित भएको विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय राजेन्द्र विश्वकर्माले बताउनुभयो । “आज जहाज चड्नका लागि नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता टीकापुरवासीलाई छ ।टीकापुरको पर्यटन र विकासको सम्भावनालाई मूर्तरुप दिनका लागि विमानस्थल सञ्चालनको विकल्प नभएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो । “आज दैनिक एक जहाजलाई पुग्ने यात्रु टीकापुरबाट नेपालगञ्ज र धनगढी जाने गरेका छन् । विमानस्थल सञ्चालन भएमा ती यात्रुले टीकापुरबाटै जहाज चड्थे ।उक्त विमानस्थल सञ्चालन भएमा कैलालीका आठ र बर्दियाका तीन पालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास छ । धावनमार्गको समस्या देखाउँदै सञ्चालनमा ढिलासुस्ती भएको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने मागसहित नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
नगर उपप्रमुख शाहले गलत राजनीतिक संस्कारका कारण विमानस्थल सञ्चालनको बाटो खुल्न नसकेको बताउनुभयो । “हाम्रो विकासको वितरण प्रणाली नै असमान छ । उक्त असमान वितरण प्रणालीको सिकार टीकापुर विमानस्थल पनि बनेको कुरा यथार्थ हो।नगर उपप्रमुख शाहका अनुसार विमानस्थलमा तत्काल एटिआर ४२ को जहाजका लागि कुनै समस्या नभएको देखिएको छ । “मैले पाइलटसँग बुझ्दा एटिआर ७२ का लागि धावनमार्ग पुग्दैन । एटिआर ४२ को जहाजका लागि कुनै समस्या छैन । यसको सञ्चालनका लागि राज्य तथा सरोकारवाला निकायबाट पहल हुनुपर्ने उहाँको भनाइ थियो ।यसअघि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । विमानस्थलको अध्ययनका लागि तीन अध्ययन समिति पनि बनेका थिए । ती अध्ययन समितिको प्रतिवेदनका आधारमा धावनमार्गको समस्याका कारण विमानस्थल सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनको माग राख्दै दुई पटक महोत्सव आयोजना गरेको थियो । “हामीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई टीकापुरमा ल्याएर विमानस्थल सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न लगाएका थियौँ ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्कालीन अवस्थामा ठूलो जहाज सञ्चालनका लागि धावनमार्गको समस्या देखिएको बताउनुभयो । उहाँले धनगढी र नेपालगञ्ज विमानस्थललाई देखाउँदै सानो जहाज सञ्चालन गर्दा हवाई भाडा महँगो हुने तथा यात्रु पाउन गाह्रो हुने बताउनुभयो ।“ठूलो जहाजको लागि धावनमार्ग पुग्दैन । सानो जहाजमा काठमाडौँबाट टीकापुर यात्रा गर्दा निकै महँगो पर्छ र प्राधिकरणसँग अहिले जहाज पनि कम छन् ।ठूलो जहाजमार्फत धनगढी तथा नेपालगञ्जबाट काठमाडौँ पुग्न ४५ मिनेटदेखि एक घण्टा लाग्ने भए पनि सानो मार्फत टीकापुर–काठमाडौँ यात्रा गर्न डेढ घण्टा लाग्नुका साथै भाडादर पनि रू १० हजार भन्दा माथि पुग्ने प्राधिकरणले जनाएको छ । त्यति महँगो भाडा तिरेर सानो जहाजमा यात्रा गर्ने यात्रु नपाइने भएकाले तत्काल विमानस्थल सञ्चालन हुने स्थिति नदेखिएको हो ।
विमानस्थलको धावनमार्ग १२ सयदेखि १५ सयसम्म बनाउन सकेको खण्डमा काठमाडौँदेखि टीकापुरका लागि दैनिक एक उडान गर्न सकिने प्राधिकरणका सूचना अधिकारी भुलले बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै पहल गर्नुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चितता गरे मात्र अन्य पूर्वाधार निर्माणका लागि लगानी गर्न सकिने उहाँको भनाइ थियो ।“प्राधिकरणका तर्फबाट टीकापुर विमानस्थल सञ्चालनका लागि कुनै समस्या छैन । त्यसमा हामीले प्रदेश र स्थानीय तहको भूमिका खोजिरहेका छौँ”प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चित गरेर आएको अवस्थामा विमानस्थल सञ्चालनमा ल्याउन समस्या छैन ।सङ्घीय सरकारले वार्षिक बजेटमा टीकापुर विमानस्थललाई बर्सेनि समेट्दै लगेको छ । चालू आर्थिक वर्षमा उक्त विमानस्थलको मर्मत सम्भारका लागि भन्दै बजेटमा समावेश गरिएको छ ।