चितवन, ११ असोज |
बालबालिकामा हुने क्यान्सर समयमा उपचार गरे निको हुने चिकित्सकको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा भित्रिएका प्रविधि र औषधिका कारण बाल क्यान्सरको उपचार सम्भव भएको हो ।बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका युवा तथा बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले बाल क्यान्सर जति खर्च गरे पनि उपचार निको हुँदैन, रोग निको भयो भने पनि रोग बल्झन्छ भन्ने भ्रम जनमानसमा रहेको बताउनुभयो ।ठूला मानिसको तुलनामा दुई कारणले बालबालिकाको क्यान्सर छिटो निको हुने उहाँ बताउनुहुन्छ । अहिले नेपालमा उपचार गर्दाखेरि बाल क्यान्सर निको हुने दर करिब ६० प्रतिशतभन्दा बढी देखिन्छ ।” विश्वका विकसित देशहरूमा जस्तै अमेरिका जापानलगायत समग्रमा कतिपय क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने दर रहेको भन्दै उहाँले सम्रगमा हेर्दा ८० प्रतिशत भन्दा बढी बालबालिकाको क्यान्सर निको बताउनुभयो ।दुई दशक पहिले नेपालमा बाल क्यान्सरको उपचार सम्भव नरहेको भन्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सर विभाग सुरुआत भएसँगै यो सम्भव भएको बताउनुभयो ।
नेपालमा प्रत्येक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर रोग लाग्ने भन्दै उहाँले त्यसमध्ये विभिन्न अस्पतालमा आउने बालबालिकाको अनुपात करिब आठ सय रहेको जानकारी दिनुभयो । उपचारमा आउने बालबालिका पनि अस्पतालमा आउँदा रोग छिप्पिइसकेपछि ढिलो गरी आउने गरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “ढिलो गरी अस्पताल आउँदा रोग फैलिसक्ने भएकाले पूर्णरूपमा निको पार्न गाह्रो हुन्छ ।” क्यान्सरको तेस्रो चौथो चरणमा भएका बाल क्यान्सर पनि निको भएको उहाँको अनुभव छ । अझै पनि आधाभन्दा बढी बालबालिका उपचारको पहुँचमा नआएको भन्दै उपचार सम्भव छ भन्ने कुरालाई व्यापक प्रचारप्रसार गरेर उपचारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।विशेषगरी बालबालिकाको क्यान्सर वंशाणुगत रोग त हो नै तर जीनमा भएको खराबीले गर्दा बालबालिकालाई क्यान्सर लाग्ने गर्दछ ।” कतिपय बालबालिका जन्मजात नै क्यान्सर लिएर आउने उहाँ बताउनुहुन्छ । रक्त क्यान्सर, न्युरोप्लाष्टामा, विल्मस ट्युमर लगायतका रोगहरू बालबालिकाको पहिलो वर्षमै धेरै देखिने गर्दछन् । नसासम्बन्धी क्यान्सर, कलेजेको क्यान्सर, कतिपय ब्रेन ट्युमर र कतिपय रक्त क्यान्सर बालबालिकाको पाँच वर्षभन्दा मुनि नै देखिन्छ । पाँच देखि १५ वर्षसम्मको बालबालिकामा लिम्फोमाहरू, ग्ल्यान्ड क्यान्सर र हड्डीलगायतको क्यान्सर बढी देखिने डा शर्मा बताउनुहुन्छ ।
बालबालिका बिरामी हुँदा लक्षण हेरेर अभिभावकले कतै क्यान्सर त होइन ? भनेर पनि शङ्का गर्नुपर्ने डा शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विशेषगरी एकदुई हप्ताभन्दा बढी समयसम्म ज्वरो आइरहने, बालबालिकाको शरीरमा निलो डाम देखिने, रगत घट्ने, रक्तश्राव हुने, पेट फुलेर आउने जस्ता लक्षण रक्त क्यान्सरका हुन् ।” बालबालिकाको ‘आइक्यु’ कम हुने, मुर्छा पर्नेलगायत लक्षण छन् भने ब्रेन ट्युमर हुन सक्छ । त्यस्तै गरेर पेट, कलेजो, मिर्गाैला र अण्डाशयको वरिपरि अनियन्त्रित खालको मासु छ भने त्यहाँको क्यान्सर हुनसक्ने उहाँ बताउनुहुन्छ ।








