जनकपुरधाम, ११ असोज |
मुस्लिम धर्मावलम्बीहरूको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा नेताहरूले भातृत्व र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गर्नुभएको छ ।मोहम्मद दिवसको अवसरमा आज जनपुरधामको तिरहुतीया गाछीमा आयोजित खुला सभामा नेताहरूले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गर्नुभयो ।कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भिन्न धर्म, सम्प्रदाय र जातिका नाममा पछिल्लो समय भइरहेका गलत गतिविधिलाई निरुत्साहित गर्ने दायित्व सबैको भएको बताउनुभयो । उहाँले नेपालको संविधानले कायम गरेको धर्मनिरपेक्षताको मर्म र एकै स्थानमा मिलेर बसेको नेपाली समाजलाई कुनै पनि नाममा भड्काउने काम नगर्न अपिल गर्नुभयो ।नेकपा (एमाले) नेतृ एवं प्रतिनिधिसभा सांसद जुलीकुमारी महतोले हिंसा, अशान्ति र गलत काम कुनै पनि धर्मले बर्जित गरेको भन्दै इस्लाम धर्मावलम्बीको विशेष पर्व मोहम्मद जन्मजयन्तीका अवसरमा सबैले सामाजिक एकताको सङ्कल्प गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले धर्म, जातजाति, धनी, गरिब, फरक लिङ्गलगायत कुनै पनि आधारमा कसैले पनि विभेद गर्न नपाइने बताउनुभयो ।त्यसैगरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले संविधानको दायरामा रहेर सबै धर्मावलम्बीले आ–आफ्नो धार्मिक स्वतन्त्रताको प्रयोग गर्न पाउने भन्दै धर्म र सामाजिक सद्भावविरोधी क्रियाकलापमा नलाग्न सचेत गराउनुभयो ।नेपालको संविधानको मान्यता प्रतिकूल क्रियाकलाप दण्डनीय भएको भन्दै मन्त्री समिमले कसैको अधिकारमाथि आँच आउने काम नगर्न र कसैले त्यसो गरेमा सरकारका निकाय नियन्त्रणका लागि सक्षम रहेको धारणा राख्नुभयो ।मौलना इजरायल अहमद रिजवी, हाकिम राइनलगायत मुस्लिम अगुवाहरूले पनि समाजमा मिलवर्तन, भातृत्व, एकता र सद्भाव खल्बलिने काममा नलाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले फरक धर्म र संस्कृति मान्ने आम नेपालीले एकअर्काप्रति सम्मान र सद्भाव राखेकै कारण नेपाल शान्ति भूमिका रूपमा चिनिएको भन्दै त्यसको मर्मअनुसार आफ्ना क्रियाकलाप गर्न सबैलाई अनुरोध गर्नुभयो ।मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा सो धर्मावलम्बीले हरेक वर्ष आजको दिनलाई विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभर आज १४९८औँ मोहम्मद जयन्ती मनाइँदैछ । मुस्लिम बाहुल्य मधेसमा आज प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।








