काठमाडौं,१९,असोज ।

नेपालको सिनियर क्रिकेट टिमले ६ महिनाअघि जुन लक्ष्य पूरा गरेको थियो, अहिले जुनियर टिम त्यही लक्ष्य पूरा गर्ने ध्याउन्नमा छ । त्यसका लागि खेलाडीले कीर्तिपुरको मैदानमा पसिना बगाइरहेका छन् ।असोज २५ गतेदेखि मलेसियामा सुरु हुने एसीसी यू–१९ प्रिमियर कपको च्याम्पियन बन्ने र एसिया कप खेल्ने यो टोलीको लक्ष्य छ । जुन लक्ष्य नेपाली सिनियर टोलीले ६ महिनअघि पूरा गरेको थियो ।गत फेब्रुअरीमा नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीले नै एसीसी प्रिमियर कप खेल्दै छन् । प्रारम्भिक चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको भए पनि विश्वकप छनोट खेलेका १४ खेलाडी नै अन्तिम रोजाइमा परेका हुन् ।प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा केही नयाँ खेलाडीलाई पनि बोलाएको तर उनीहरू भन्दा पुरानै खेलाडीले राम्रो गरेकाले टिममा दोहोरिएको बताए । ‘यही टिमले हामीलाई विश्वकपमा समेत पु¥याएको भएर प्रदर्शनकै आधारमा निरन्तरता दिएका हौं’, उनले भने ।सन् २०२४ को जनवरीमा श्रीलंकामा हुने विश्वकपमा स्थान सुरक्षित गरेपछि यो टोलीको मनोबल उच्च छ ।यूएई, सिंगापुर, हङकङ, मलेसिया र कुवेतलाई हराएर विश्वकपमा पुगेको टोलीले प्रिमियर कपको सेमिफाइनल र फाइनलमा यिनै टोलीसँग खेल्नुपर्ने हुनसक्छ ।त्यसअघि समूह चरणमा भने नेपालले बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने छ । समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि पनि उचाल्ने आफूहरूको लक्ष्य रहेको प्रशिक्षक टमटा बताउँछन् ।‘पहिलो ३ खेल महत्वपूर्ण हुनेछ । हामीले ३ खेल जितेर सेमिफाइनल खेल्ने र जितेर आउने लक्ष्य हो’, उनले भने ।नेपालको इतिहासलाई हेर्ने हो भने उमेर समूहमा टेष्ट राष्ट्रहरूलाई समेत हराएको छ । हुनत अहिलेको परिस्थिति र टिममा धेरै परिवर्तन आइसकेको छ । तर खेलाडीमा रहेको उच्च मनोबलका आधारमा र आफ्नो बलियो पक्षहरूलाई ध्यानमा राखेर नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।नेपाललाई ७ वर्षपछि विश्वकपमा छनोट गराउन सफल भएकाले अहिलेको टिममाथि पूरा विश्वास रहेको कप्तान देव खनाल बताउँछन् । भन्छन्, ‘उपाधि विजेता नै बन्ने लक्ष्यका साथ हामीले पुरानै टिमलाई निरन्तरता दिएका हौं।’

गत अप्रिल–मेमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै सिनियर टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाएकोले मात्रै होइन, सिनियर टिमले पछिल्लो समयमा पाइरहेको सफलता र चर्चाले युवा खेलाडीमा पनि उत्साह थपिएको छ ।चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा सिनियर टिमका खेलाडीले बनाएको कीर्तिमानले पनि युवा खेलाडीलाई ऊर्जा मिलेको प्रशिक्षक टमाटा बताउँछन् ।उनी भन्छन्, ‘दीपेन्द्र र कुशलको रेकर्डले गर्दा यू–१९ का खेलाडीमा हामीले पनि सक्छौं भन्ने मनोबल बढेको छ ।’चीनमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक र कुशल मल्लले ३४ बलमा शतक पूरा गरेर कीर्तिमान बनाएका थिए ।कुशल र दीपेन्द्रसँगै सिनियर टिमबाट खेलिसकेका यू–१९ टिमका कप्तान देव खनाल सिनियर टिममा पुनरागमनको आशामा छन् । त्यसका लागि प्रिमियर कपमा राम्रो गर्नुपर्ने चुनौती उनलाई छ ।‘मेरो लागि सिनियर टिममा पुनरागमन गर्ने यो राम्रो अवसर हो’ देवले भने, ‘यो क्वालिफायर्स, एसिया कप र विश्वकपमा राम्रो प्रदर्शन गरेर राम्रो स्कोरको साथमा सिनियर टिममा कमब्याक गर्ने मन छ ।’यू–१९ टिमका एक सदस्य, मिराकल ब्वाइ भनेर चिनिने दिपेश कँडेल विश्वकपमा छनोट भएकाले आफूहरू नै च्याम्पियन रहेको बताउँछन् । ‘हामी च्याम्पियन हौं र च्याम्पियन जसरी खेलेर आउनेछौं’, विश्वकप छनोटमा यूएईसँगको फाइनल खेलको अन्तिम ओभरमा ह्याट्रिक विकेट लिँदै नेपाललाई विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले भने ।यू–१९ टिमले एसीसी प्रिमियर कपको तयारीका क्रममा सिनियर खेलाडीसँग प्रतियोगिता खेलेको थियो । जसमा युवा खेलाडीले धेरै कुरा सिक्ने मौका पाएका थिए ।‘सिनियर दाइहरूसँग खेल्दा छुट्टै आत्मविश्वास बढेको छ’, दिपेशले भने । यू–१९ टिमका लागि मलेसियामा हुने प्रिमियर र विजेता भएमा खेल्न पाउने एसिया कप विश्वकपको लागि राम्रो तयारी हुनेछ । प्रशिक्षक टमाटा भन्छन्, ‘नेपालका लागि यो प्रतियोगिता विश्वकपको राम्रो वार्मअप हुनेछ ।’विश्वकपमा नेपालले पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्डको समूहमा रहेर खेल्नेछ । बलिया टोलीसँगको ठूलो प्रतियोगिता खेल्नुअघि आफूहरूले धेरैभन्दा धेरै खेल अन्य टोलीसँग खेल्नु राम्रो हुने टमाटा बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here