बुटवल,७,असोज  ।

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीय संघसंस्थाले आपत्ति जनाएका छन् ।लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्यारक्याल लामाले पदभार ग्रहणपछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुनर्निर्माणका लागि आफूले व्यक्तिगत ७ करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।तर लुम्बिनी बचाउ संघर्ष समितिले धार्मिक तथा पूरातात्विक महत्वको प्राचीन मायादेवी मन्दिरलाई रिडिजाइन र पुनर्निर्माण गर्ने कुरा स्वीकार्य नहुने बताएको छ ।संघर्ष समितिका अध्यक्ष रामविकास चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै रिडिजाइन र पुनर्निर्माण गर्ने छलफलमा विमति जनाएका कोषका स्थानीय बोर्ड सदस्य विश्वराज पौडेललाई जिम्मेवारीबाट हटाइएकोआरोप लगाएका छन् ।‘विवादित छविका डा. ल्हारक्याल लामालाई लुम्बिनीबासीको मनोभावना विपरीत लुम्बिनी बिकास कोषको उपाध्यक्ष पदमा नियुक्त गरेदेखि भएका विभिन्न निर्णयहरूप्रति हामी सशंकित छांै,उहाँ नेतृत्वको लुम्बिनी विकास कोषले लुम्बिनीबासीको आस्थामा ठेस पुग्ने खालका एकपछि अर्को निर्णयहरू गर्दा हामी विरोध गर्न बाध्य भएका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘लामा नेतृत्वको कोषको चार सदस्यीय सचिवालय बैठकले २०८० साउन २६ गते लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापित गर्ने घातक निर्णय गरेपनि स्थानीयबासीको बिरोध र सुझावका कारण त्यसको कार्यान्वयन नगरेकोमा धन्यवाद छ, तर हाम्रो आस्थाको केन्द्र पूरातात्विक महत्वको मायादेवी मन्दिरलाई रिडिजाइन गर्नेप्रति हामी सन्तुष्ट छैनौं ।’लुम्बिनीवासीको प्रतिनिधित्व गरेका एक मात्र बोर्ड सदस्य पौडेललाई हटाउने निर्णय लुम्बिनीबासीलाई मान्य नहुने भन्दै सो निर्णय तत्काल नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here