काठमाडौं,७,असोज ।
ललितपुर महानगरपालिकाको नगर प्रहरीले ३ वर्षपछि फेरि लठ्ठी बोक्न थालेको छ । सीताराम हाछेथु प्रमुख बनेर आएपछि नगर प्रहरीले लठ्ठी बोक्न छाडेर नमस्कार गर्ने गरेको थियो ।‘फुटपाथ पुलिस होइन, सिटी पुलिस हो’, भन्दै ललितपुर नगर प्रहरीले लौरो बोक्न छाडेको थियो । तर ३ वर्षपछि फेरि संविधान दिवसको अवसर पारेर महानगरले नगर प्रहरीहरुलाई हरियो छडी दिएको छ ।‘हामीले नमस्ते गरेर सेवा गरिरहँदा केही स्थानीयले अटेर गरे, साँझ बिहान हाम्रै प्रहरीलाई असुरक्षाको आभास भएपछि आत्मसुरक्षाको लागि मात्रै छडी बोकेका हौं’, नगर प्रहरी प्रमुख हाछेथुले अनलाइनखबरसँग भने ।नगर प्रहरीले छडी बोकेपनि जनतामाथि चलाउन नपाउने नियम रहेको उनी बताउँछन् । ‘यो हाम्रो नगर प्रहरीको ड्रेससँग मिल्दो छडी हो, यसलाई ड्रेस कोड नै भन्दा हुन्छ । यसले लौरोले जसरी जनतालाई तर्साउने काम गर्दैन । पुलिसले सानो छडी बोक्दा स्मार्ट नै देखिन्छ नि’, हाछेथुले भने ।नगर प्रहरीलाई कतिपयले नराम्रो व्यवहार गर्ने गरेकाले छडी बोक्नुपरेको हाछेथुको स्पष्टीकरण छ । ‘प्रहरी भनेर हिँडिरहँदा प्रहरी जस्तो व्यवहार जनताले पनि गर्नुपर्छ, निहत्था जस्तो सोेचेर जनताले सम्मान गर्न छोडेपछि प्रहरीले आत्मविश्वास गुमाउँछ । हातमा लौरो भएपछि, परेमा भिड्छु भन्ने आत्मविश्वास प्रहरी जवानमा पनि हुन्छ, त्यसको लागि पनि छडी बोकेको हो’, उनले भने ।
बजार व्यवस्थापनका क्रममा नगर प्रहरीमाथि नै आक्रमणको सम्भावना बढेको हाछेथुको भनाइ छ । ‘कहिलेकाहीँ बजार व्यवस्थापनको क्रममा नगर प्रहरीमाथि नै हमला हुन सक्छ, यस्ता घटना भक्तपुरमा र काठमाडौंमा घटिसकेको छ । प्रहरीसँग छडी मात्रै हुँदा कम्तीमा सेल्फ डिफेन्स त गर्छ’, उनी भन्छन् ।छडी बोक्न थाल्नुको अर्को कारण ललितपुरमा हुने मेला तथा जात्राको भिड नियन्त्रण पनि रहेको नगर प्रहरीको भनाइ छ ।नगर प्रहरीहरुले ललितपुरमा हुने मेलामा हातले साङ्लो बनाएर भीड छेक्दै आएका छन् । महानगरकै कार्यक्रममा धेरै संख्यामा सर्वसाधारण सहभागी हुँदा पनि अब नगर प्रहरीले छडीको सहायताले रोक्न सक्ने उनले बताए ।नगर प्रहरीहरुले रात्रीकालीन गस्ती गर्दा कुकुरले सताउने समस्या पनि भोगेका छन् । ‘३–४ जनाको समुह हुँदा त केही भएन, कहिलेकाहीँ राति अबेर एकदुई जना मात्रै नगर प्रहरी हिँड्दा कुकुरले दुख दिने गरेको छ । त्यसमाथि बर्दी लगाएको मान्छेलाई कुकुरले धेरै झम्टिन्छ, त्यस्तो अवस्थामा हातले मात्रै केही गर्न सकिन्न, सानो लौरो भने पनि चाहियो नि’, उनी भन्छन् ।सडक र चोकमा भेटिने छाडा बस्तुभाउ धपाउने काम पनि नगर प्रहरीकै हो । त्यसको लागि पनि छडी आवश्यक परेको हाछेथुले बताए । उनले मदिरा सेवन गरेको व्यक्ति, महानगरसँग रिस उठेको व्यक्तिले बल प्रयोग गर्दा छेक्नुपर्ने आवश्यकता पनि देखिएको उनको भनाइ छ ।‘हाम्रा प्रहरीहरुले कहिलेकाहीँ हातमा केही नहुँदा समस्या झेल्न थालेपछि महानगर प्रमुख चिरिबाबु महर्जनलाई अनुरोध गरेर छडी बोक्न थालेका हौं’, हाछेथुले भने ।







