काठमाडौँ, २२ भदौ |

सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिनुभएको छ ।बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो ।निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका, प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन, राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताउनुभयो ।सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भइसकेकाले हाल सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय निजामती सेवा विधेयकलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।सो ऐन संसद्बाट पारित भई छिट्टै लागू हुने मन्त्री देवीको भनाइ थियो । उक्त ऐन लागू भइसकेपछि सङ्घीय निजामती मात्रै नभई प्रदेश र स्थानीय तहसम्मका धेरै अन्यौता अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले ऐन पारित गर्न सबैसँग सहयोगको अपेक्षासमेत गर्नुभयो ।सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीले इममान्दारिता, प्रतिबद्धता, जनमुखी प्रशासनमार्फत मुलुकको समृद्धि र शुसासन हासिल गर्दै देश र जनतालाई सेवा गर्न निर्देशन दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशैभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here