मध्यविन्दु (नवलपरासी) १९ भदौ |
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते हुनुभएको छ ।अवैध ढुङ्गा गिटी चोरी नियन्त्रणका लागि गए राति गिरुवारी खोलामा ड्युटीमा खटिनुभएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करले ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । “हुप्सेकोट–४ स्थित गिरुवारी खोलामा खटिएका चार नगर प्रहरीलाई देख्नासाथ तस्करले आक्रमण गरेका थिए । घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाजमार्फत न्यूरो अस्पताल काठमाडौँ लगिएको छ । नगर प्रहरीलाई आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । “आक्रमणमा सामेल एक जना फरार छन्, खोजी कार्य जारी छ”, उहाँले भन्नुभयो । हुप्सेकोट गाउँपालिकाले गत जेठदेखि यममाया मल्लसहित सात जनालाई नगर प्रहरी नियुक्त गरेको थियो ।








