वीरगञ्ज,३,असार ।
औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने भएको छ । वातावरण विभागले नदीमा बग्ने पानीको गुणस्तर मापन गर्न लागेको हो ।आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको पारिस्थितिकीय प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय असरको स्थलगत अध्ययन गर्न विभागले टोली खटाएको थियो ।विभागबाट आएको ४ सदस्यीय टोली गुणस्तर परीक्षणका लागि विभिन्न १२ स्थानबाट सिर्सिया नदीको पानीको नमुना संकलन गरेर काठमाडौं फर्किएको छ । विभागको सूचना अधिकारी एवं वैज्ञानिक अधिकृत सरोजा अधिकारी नेतृत्वको टोलीले औराहा खोला, हुलास स्टिलको तल्लो भाग, डाबर नेपाल, परवानीपुरको पुल, ज्योति स्पिनिङ, मितेरी पुल लगायत १२ ठाउँबाट नमुना संकलन गरेको छ ।औद्योगिक प्रदुषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको वास्तविक स्थितिबारे अध्ययन गर्न नमुना संकलन गरिएको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए । ‘सामान्य मान्छेले हेर्दा पनि सिर्सिया नदीमा औद्योगिक प्रदूषण देखिन्छ । पानीको स्थिति खराब छ । सन्तोषजनक छैन,’ उनले भने, ‘प्रयोगशाला परीक्षणबाट पीएच भ्यालु, सीओडी, बिओडी, लगायत जाँच गरिन्छ ।’जीतपुरसिमरा उपमहानगरको रामवन झाडीबाट बग्ने सिर्सिया नदी वीरगञ्ज हुँदै रक्सौलतर्फ जान्छ ।
यसअघि जल तथा मौसम विज्ञान विभाग मार्फत सिर्सिया नदीको प्रदूषणको अवस्थाका बारेमा अध्ययन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गठित सिर्सिया नदीको प्रदूषण अनुगमन समिति, २०६७ ले नदी प्रदूषण गर्ने उद्योगहरुको नामै तोकेर कारबाहीका लागि सिफारिस गरेको थियो । तर अझैसम्म कारबाही हुन सकेको छैन । तीनै तहको सरकारको निरिहताका कारण औद्योगिक स्वार्थले सिर्सिया नदी विषालु बनेको स्थानीय बताउँछन् ।‘सरिसवा नदी बचाउ’ भनेर वीरगञ्जमा समय समयमा आन्दोलन समेत हुने गरेको छ र तर निरन्तर आन्दोलन नहुँदा नदी प्रदूषणको समस्या यथावत छ । सिर्सिया नदी प्रदूषणको चपेटमा छिमेकी मुलुक भारतको रक्सौलका बासिन्दा पनि पर्ने गरेका छन् ।वीरगञ्ज महानगरपालिकाले दिएको जानकारी अनुसार सिर्सिया नदीमा विद्यमान प्रदूषणलाई लिएर स्थानीयले ‘हेल्लो सरकार’ मा समेत उजुरी गर्ने गरेका छन् । नदीमा उद्योगको फोहोर सिधै मिसाउँदा नदी प्रदूषित भएको गुनासो वीरगञ्ज–१ का विकास बैठाले जानकारी दिए ।








