काठमाडौं २५ पुस ।
नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले आफ्नो पार्टीे राष्ट्रिय सहमतीको सरकार बनाउने पक्षमा नरहेको बताउनु भएको छ । संसदमा बलियो प्रतिपक्ष आवश्यक रहेकाले आफ्नो पार्टीले प्रतिपक्षमा बसेर नै संसदमा भूमिका निर्वाह गर्नुपर्छ भन्ने पक्षमा आफूले वकालत गरिरहेको पनि सांसद पौडेलले स्पष्ट पार्नु भयो । सोमबार संघीय संसद भवन परिसरमा सरकारलाई विश्वासको मत दिने हो ? भनि सोधिएको सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उहाँले संसदीय व्यवस्थामा सहमतीको सरकार भन्ने नै नहुने तर्क गर्नु भयो । उहाँले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाएर मुलुकमा विद्यमान सबै खालको बेथितिहरुको अन्त्य गर्न सके काँग्रेसले जनताले अपेक्षा गरे अनुसारको काम गरेको हुने समेत बताउनु भयो । नेपाली काँग्रेसले सरकारलाई विश्वासको मत दिने विषयमा निर्णय गर्न भोली (मंगलबार) बिहान पार्टी संसदीय दलको बैठक बोलाएको छ । त्यसमा आफ्नो मत विश्वासको मत नदिने पक्षमा हुने सांसद पौडेलको भनाई थियो ।सांसद पौडेलले प्रतिपक्षलाई बलियो बनाएर आफ्नो पार्टी अघि बढने पनि बताउनु भयो ।






