चितवन, ७ भदौ |
भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो । उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो । भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण मिलाईदिन आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहालले देवनगरमा निर्माण भइरहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैँडा, चित्तल लगायतका जनावर देखाउने गरी चिडियाखानाका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत लगायतको टोलीसँग दाहालले बुधबार स्थलगत अध्ययन र छलफल गरी देवनगरमा चिडियाखाना बनाउने विषयको छलफल भएको बताउनुभयो ।
चितवन आउने निकै कम पर्यटकले मात्रै बाघ देख्ने गरेको जनाउँदै उहाँले भ्रमण वर्षसँगै चिडियाखाना सञ्चालनमा आएपछि सबैले बाघ देख्न पाउने बताउनुभयो । यसलाई खुल्ला चिडियाखानाका रुपमा क्रमशः विकास गर्नेगरी योजना बनाइएको छ । सो ठाउँलाई घाइते वन्यजन्तु राख्नका लागि विकास गरिँदै छ । घाइतेसँग त्यहाँ हिंस्रक वन्यजन्तुसमेत राख्ने योजना निकुञ्जको थियो ।प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका सो ठाउँमा कम्पाउण्ड वालको केही काम भइसकेको छ । प्राविधिक कर्मचारी बस्ने आवास बनिसकेको छ । चित्तल, मृग जस्ता जनावर राख्ने ठाउँ बनाइएको छ । हात्तीका लागि तीन वटा सेड निर्माण भएका छन् ।बाघ राख्ने दुई वटा खोर निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त अत्यावश्यक अन्य संरचना निर्माणका काम अघि बढाइने उहाँले बताउनुभयो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियन्त्रणमा लिएर राखिएका बाघलाई पालेर राख्नु मात्रै भन्दा पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने बताउनुभयो । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो ।निकुञ्ज आउने पर्यटकहरुमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्दन् । निकुञ्जको यसै क्षेत्रमा बढी सङ्ख्या एकसिङ्गे गैँडा, बाघ लगायतका वन्यजन्तु पाइन्छन् ।







