काठमाडौं,७,साउन ।
नेपाली कांग्रेसका सात नेताले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकृतको सरुवाप्रति आपत्ति जनाएका छन् ।भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपमा सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तहमा गम्भीर प्रश्न उठेको उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् । नागरिक तहमा भएको आशंकाबाट राज्य पन्छिन नमिल्ने उनीहरुको धारणा छ । १ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको सरुवा गर्यो । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि सरुवा गरेको छ ।नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरु मधु आचार्य, डा. गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरत बहादुर खड्का र सुवास लोहनीले विज्ञप्ति निकालेर प्रहरी सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल सुधार नहुनुमा अनियन्त्रित भ्रष्टाचार भएको उनीहरुको निष्कर्ष छ ।‘अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड तथा क्विन्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाइ सरकारले तार्किक निष्कर्षमा पु¥याउनु पर्छ’ विज्ञप्तिमा भनिएको छ । भ्रष्टाचारका घटनाहरुको छानबिनमा कुनै प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता मान्य नहुने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।








