नेपालगञ्ज, ९ साउन (रासस) |

बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् । “वर्षौंदेखि पुर्खाहरुले नै यो पूजा गर्दै आउनुभएको छ, त्यही भएर रोपाइँ सकिएपछि हामी यस्तो पूजा गर्छौं”, धामपुरका स्थानीय लौटन थारूले भन्नुभयो । उहाँले उक्त पूजाका कारण वर्षा हुने र त्यसबाट धान उत्पादनमा वृद्धि हुने विश्वास भएको उल्लेख गर्दै पूजा नगर्दासम्म दशैँमा बलि दिनसमेत नमिल्ने बताउनुभयो । धान रोपाइँ सुरु भएको र रोपाइँ अन्त्य समेत भएको भन्दै उक्त समुदायले कूल देउतालाई पूजा गरिने स्थानीयवासी बताउँछन् । सुच्चा पूजा दशँै अगावै गरिनुपर्ने प्रचलन छ ।

थारू समुदायमा धान रोपाइँको सुरुआती चरण अरू समुदायभन्दा फरक शैलीको हुने गर्छ हरेक थारू बस्तीमा धान रोपाइँ हुनुभन्दा पहिलो दिन उनीहरुले गाउँभरिका समुदाय मिलेर सँुगुर अर्थात् (जिता) मार्ने, र अन्य मीठा मीठा परिकार खाने गरेको स्थानीय नेपालगन्जका रामभगत चौधरी बताउनुहुन्छ ।उनीहरुले माछामासु, सागपात, अन्न, घोघी, सिध्रा बनाई खेतमै गएर पूजा अर्थात् (कल्वा) खुवाई गरेपछि मात्र खेत रोपाइँ सुरु गर्ने प्रचलन छ । कल्वा खुवाइको दिन गाउँभरिका बासिन्दा आ-आफ्नो घरबाट बनाएको परिकार खेतमै लगेर खाने गर्दछन् । खेतको पूजा गरी मीठा मीठा परिकार खेतमा चढाएर खाने जनाइएको छ ।“थारू समुदायमा खेती गर्ने शैली परिवर्तन भए पनि खेतको उद्घाटन अर्थात् कल्वा खुवाई भने परिवर्तन भएको छैन”, बर्दिया ठाकुरबाबा नगरपालिकाका अगुवा लहानु थारू भन्नुहुन्छ ।त्यसैगरी थारू समुदायमा रोपाइँ सकिएपछि हरेरी पूजा समेत गर्ने प्रचलन रहेको छ । बाँकेमा रतगैयाबाहेक तेलदेहुवा, भगोरिया, कुसुमिया, देमनडौरा, धामलगुवा, दहितलगायत दर्जनौँ समुदायका थारूहरु छन् । यस वर्ष वर्षा कम भएका कारण केही ठाउँमा रोपाइँ सकिएको छ भने केही ठाउँमा रोपाइँ जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here