काठमाडौं १९ पुस ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनु भयो । उहाँले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिनुभयो । लामो संर्घर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उहाँको भनाई छ । वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरुले गरेको हिसावकितावले काम नगरेको बताउनु भयो । उहाँले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताउनु भयो । देशमा अस्थिरताको श्रृङ्खला अगाडी बढेको उहाँले बताउनु भयो । वरिष्ठ नेता पौडेलले सांसदहरुलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रुपमा पठाइने भएपनि सांसदहरु विकास निर्माणको काममा मात्रै केन्द्रीत हुने गरेका बताउनु भयो । जनताले पनि सांसदहरुलाई विकासे कार्यकताको रुपमा बुझ्दा समस्या भएको बताउनु भयो । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरु पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । उहाँले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको बताउनु भयो ।
केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरुले अधिकार नपाएका उहाँको भनाई छ । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री तथा मन्त्रीहरुले सबै कुरा आफैँमा केन्द्रीकृत हुने प्रवृत्ति प्रश्तुत गरेका बताउनु भयो ।








