वीरगञ्ज, १३ अषाढ । बारा प्रहरीले करिब २३ लाख रुपैयाँ मूल्य बराबरको पाम आयल तेल सहित चार जनालाई पक्राउ गरेको छ ।
सिमावर्ती शहर भारतको रक्सौलबाट दुईवटा पिकप गाडीमा ८० वटा जारमा करिब १२ सय लिटर पाम आयल तेल लुकाई छिपाई बारा भित्रियाउँने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
ना ३ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकप गाडीमा किराना समान मुनि ८० वटा जारमा भरिएर ल्याएको पाम आयल तेल लुकाई छिपाई ल्याई रहेको अवस्थामा चालक सहित चारजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१५ का रजाक मियाँ अन्सारीका छोरा मैरुदिन अन्सारी, खैरुदिन अन्सारी, वडा नम्बर १७ का मुन्ना अन्सारी र परवानीपुर गाउँपालिका-१ का सञ्जय महतो रहेका छन ।
प्रहरीले पिक गाडीबाट पाम आयल तेल सहित ४२ हजारको किराना समान समेत बरामद गरेको छ । २ वटा पिकड गाडीको २० लाख र ८० वटा जारमा लोड गरिएको पाम आयल तेलको मूल्य २ लाख ८० हजार गरी २३ लाख २२ हजार रुपैयाँ मूल्यांकन राखि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।








