काठमाडौं १६ पुस ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो । यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रिय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनु भयो । बैठकमा निर्वाचनको समिक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताउनु भयो ।बैठकमा निर्वाचनको समिक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरुबारे र अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ ।








