भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध आन्दोलनरत स्थानीयबासीले कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा एक पत्र बुझाउँदै अनियमितता, भ्रष्टाचार र मानव अंग तस्करीमा संलग्न भएको भन्दै डा.श्रेष्ठलाई कारवाही स्वरुप बर्खास्तको माग गरिएको हो ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिका तर्फबाट विष्णुकुमार पौडयाल, चन्द्रलाल सुवाललगायतले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बर्खास्तको पत्र बुझाएका हुन् । उनीहरुले अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग पनि गरेका छन् ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि सुनुवाइ नभएपछि आन्दोलनकै कार्यक्रम स्वरुप पत्र बुझाइएको सुवालको भनाइ छ ।

विगत १५ दिनदेखि अस्पतालको गेट अगाडि विरोध प्रदर्शन गर्दै आइरहेका उनीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतका माग राख्दै आएका थिए ।

आन्दोलनकै सिलसिलामा उनीहरुले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर ज्ञापन पत्र बुझाइसकेका छन् । झण्डै दुई सय जनाको हस्ताक्षरसहित उनीहरुले केन्द्रमा रहेका व्यथितीहरुका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, विहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पताल भित्र हुने सबै प्रकार सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरुको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारले कार्यकारी निर्देशक डा.श्रेष्ठलाई तत्काल बर्खास्त नगरे अस्पताल प्रवेशमा रोक लगाउने र आन्दोलनकारीका तर्फबाट कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here