नवलपुर,१९,असार  ।

मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई मात्रै प्राकृतिक वासस्थानमै छाडेको छ ।खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिए ।उनले भने, ‘बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन ।’ जङ्गलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।

बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उनले बताए ।छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण नगरेका बाघलाई मात्र छाडिएको जानकारी दिए ।‘हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरुको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जङ्गलमा लगेर छाड्ने गरेका छौँ’, उनले भने । उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटेलाइट कलर घाँटीमा जडान गरिएको उनले बताए ।निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here