उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्यको नयाँ ढोका खोल्ने बताएका छन् ।
बिहीबार विकासशील मुलुकमा स्तरोन्नतिका विभिन्न क्षेत्र, आयाम र सहकार्यको विषयमा छलफल गर्न आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा हुने स्तरोन्नति नेपालको समृद्धिको यात्रामा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहनेछ । यसले नेपालको विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्यको नयाँ ढोका खोल्नेमा हामी विश्वस्त छौं,’ कार्यक्रममा बोल्दै उनले भने ।
स्तरोन्नति पश्चात् नेपालको लागि अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता परिचालन, दिगो विकासका लक्ष्यको कार्यान्वयन, सार्वजनिक तथा निजी क्षेत्रको प्राविधिक दक्षता वृद्धि, विपद् तथा जलवायु परिवर्तन व्यवस्थापन लगायतका आर्थिक तथा प्राविधिक विकासमा थप चुनौती देखा पर्नेछन् । त्यस्ता चुनौतीको सम्बोधन गर्न तीन वटै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी संघसंस्था तथा विकास साझेदार बीचको सहकार्य निकै महत्वपूर्ण हुने उनको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here