जनकपुर,१६,असार ।
खरीद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सप्तरीको राजविराज र सिरहाको लहानका ११ पसललाई जरिवाना गरिएको छ । राजविराजका ७ र लहानका ४ पसललाई जरिवाना गरिएको हो ।वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेको छ । त्यस क्रममा खरीद बिल नदेखाउने, अनुगमन कार्यमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिए ।उनका अनुसार मूल्य सूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरीद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २० हजारका दरले र गौरब ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सिता ट्रेडर्स र लेडी कलेक्सनलाई रु ५ हजारका दरले जरिवाना तोकिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी खत्बेले जानकारी दिए । उनका अनुसार अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरीद बिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँकोे दरले जरिवाना गरिएको छ ।
लहानका व्यवसायीले पनि खरीद बिल नराख्ने गरेको पाइएको छ । खरीद बिल नराख्ने नितिश ट्रेडर्स एण्ड सप्लायर्सलाई रु २० हजार, खान बुट हाउस र सलमान बुट हाउसलाई रु १० हजारका दरले जरिवाना तोकिएको छ ।यस्तै, इजाजत पत्र नलिई कारोबार गर्ने श्रीजी डिमार्टमेन्ट स्टोरलाई रु ५० हजार जरिवाना तोकिएको छ ।सूचना अधिकारी खत्बेले तोकिएको जरिवाना वापतको रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी भौचर पेश गर्न निर्देशन दिइएको बताए ।उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकाले सोही ऐनको दफा ३९ बमोजिम ती पसललाई जरिवाना तोकिएको हो ।







