काठमाडौं ,२९ ,जेठ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास भएको छ । आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गर्नुभएको हो । आन्तरिक हवाई यात्रुको चाप बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको बताएको छ । भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्शनसँग आग्रह गर्नुभयो । एक वर्षभित्र आन्तरिक टर्मिनल भवन ५ करोडमा निर्माण गर्ने लक्ष्य छ । उहाँले प्रश्तावित आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालयको व्यवस्था, यात्रुलाई बस्ने व्यवस्था र ६० वर्ष उमेर समूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था हुनेपनि बताउनु भयो । उहाँले अबका दिनमा विमानस्थलमा हुने फोहोरलाई व्यवस्थापन गर्न निर्देशन दिनुभयो । मन्त्री आलेले विमानस्थलमा सरसफाईलाई ध्यान दिन पनि आग्रह गर्नुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘कम्तिमा पनि प्यासेन्जर आउँदा आधा घण्टा उभिने अवस्था नआओस् । ५ मिनेटमै आफ्नो लगेज लिएर घरजाने व्यवस्था होस् भनेर हामीले त्यो तयारी गरेका छाँै । म निर्माण कर्तालाई भन्न चाहन्छु । समय सकिनुभन्दा अगावै काम सम्पन्न गर्नुस् भन्न चाहन्छु । प्रश्तावित आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालयको व्यवस्था पनि हुनेछ । यात्रुलाई बस्ने व्यवस्था, ६० वर्ष उमेरसमूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था हुनेछ । ब्यागेज बेल्ट जहाँ चलिरहेको छ हाम्रो यसलाई टर्मिनल बिल्डिङमा कन्भर्ट हुनेछ । यसलाई तपाईहरु मेन्टन गर्नुहोस् । पान खाएर पिचिक्क थुक्ने काम नहोस् । फोहोर फाल्ने काम नहोस् । आगामी दिनमा सरसफाईलाई व्यवस्थापन गर्नेगरेर काम गर्नुहोस् ।’

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले हेलिकप्टर कम्पनीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गर्दा परेको कठिनाइलाई मध्यनजर गरेर नलिनचोकमा करिव ३२ रोपनी जग्गामा हेलिप्याड निर्माणको लागि बोलपत्र आह्वान गरेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षभित्रमा हेलिप्याडको काम सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछन् । अहिले भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन असाध्यै पुरानो छ । यसलाई पनि हामीले अर्को टर्मिनल भवन बनाएर यसलाई आन्तरिक टर्मिनल भवनमा रुपान्तरण गर्ने कार्यक्रम छ । निकट भविष्यमा नै हामी त्रिभूवन विमानस्थलको अर्को टर्मिनल भवनको खरिदप्रक्रिया शुरु गर्नेछौँ । पूर्वाधारको क्षेत्रमा प्रशस्त लगानी भएको देखिन्छ । हेलिकप्टर कम्पनीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गर्दा परेको कठिनाइ र हेलिकप्टरले गर्दा भएको कन्जम्सनलाई पनि हटाउन हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणको आफ्नै जग्गा नलिनचोकमा करिव ३२ रोपनी जग्गामा हामीले हेलिप्याड निर्माणको लागि बोलपत्र आह्वान गरिसकेका छौँ । आगामी आर्थिक वर्षभित्रमा हेलिप्याडको कामपनि सकिनेछ ।’

महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन धेरै पुरानो भएकोले निकट भविष्यमा नै त्रिभूवन विमानस्थलको अर्को टर्मिनल भवनको खरिदप्रक्रिया शुरु गर्ने बताउनु भयो । आज नै त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनल भवनको स्टोराइल हलको बिस्तारित कक्ष तथा बुटिक अवधारणाअनुसार नवनिर्मित वाटर फाउण्डेशनसहितको रोटरी आइल्याण्डको पनि उद्घाटन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here