२५ चैत, काठमाडौं ।

विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एकमा मात्र उम्मेद्‍वारी दिँदा महिला अनिवार्य गर्न माग गरेका छन् ।शुक्रबार दिउँसो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग सामूहिक भेट गरी महिला नेतृहरुले समावेशी समानुपातिक सिद्धान्तको आधारमा महिलाहरुको उम्मेदवारी हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न दबाब दिएका छन् ।कुनै दलले एउटा मात्रै उम्मेदवारी दिन्छ भने त्यसमा महिला अनिवार्य हुने व्यवस्था गर्न माग गरेको नेकपा (एमाले)की नेतृ विन्दा पाण्डेले जानकारी दिइन् ।‘कुनै पनि दलले एउटा मात्रै उम्मेदवार दिन्छ भने त्यसमा महिला अनिवार्य हुुनुपर्छ भन्ने खालको जुन कुरा उल्लेख छ,’ उनले भनिन्, ‘त्यसमा फिर्ता लिने सन्दर्भमा पनि महिलाको फिर्ता लिन नमिल्ने व्यवस्था गर्नुपर्छ ।’

सत्तारुढ नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले संविधानको धारा ३८ ले व्यवस्था गरे अनुसार समानुपातिक सहभागितालाई स्थानीय तह निर्वाचनमा पनि कडाईका साथ पालना गराउन निर्वाचन आयोग समक्ष आग्रह गरेको बताइन् ।‘कुनै पनि परिस्थितिमा गठबन्धन होस् वा एकल निर्वाचन लड्ने कुरा होस् । त्यसमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित होस् भनेका छौं’, नेकपा (माओवादी केन्द्र)की नेतृ रेणु चन्दले भनिन् ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालेसंविधानले व्यवस्था गरेको कुरालाई सबै राजनीतिक दलहरुले पालना गरेर जाने विश्वास व्यक्त गरे ।

आयोगको निर्देशन पालना गर्ने काममा दलहरु सक्षम रहेको भन्दै उनले थपे, ‘संविधानको धारा ३८ को ४ र धारा ४२ लाई हामीले उल्लेख गरेर दलहरुलाई पत्राचार गरेका छौं । र, आयोगले दिएको निर्देशनलाई कानुन अनुसार, संविधान अनुसार लेखेको कुरालाई पालना गर्नु प्रत्येक राजनीतिक दलको कर्तव्य हो । त्यसका पालना गर्ने कुरामा कारबाही गर्नुपर्ने अवस्था नआओस् भन्ने आयोगको धारणा छ ।’निर्वाचन आयोगले राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ता गर्दाका कानुनी व्यवस्थाका बारेमा निर्देशनात्मक पत्राचार यस अघि नै गरिसकेको छ । महिला नेतृहरुले निर्वाचन आचारसंहिता विपरित खर्च गर्ने उम्मेदवारहरुको उम्मेदवारी खारेज हुने व्यवस्था गर्न पनि निर्वाचन आयोगसँग आग्रह गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here