२५ चैत, काठमाडौं ।

अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे ।‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ, किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ,’ उनले भने, ‘कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, त्यो सपना पूरा हुँदैन ।’

नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाइ छ । ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगाायत तथ्यांक हेर्‍यौं भने श्रीलंकासँग हाम्रो तुलना नै हुन नसक्ने उनले बताए । श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपील गरे ।‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउन बहस गरौं’ उनले भने ।

क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगाायतका कारण नेपालबाट पूँजी पलायन भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको उनले बताए । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाइ छ ।अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उनको भनाइ छ । मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने बिषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनको भनाइ छ । कोभिड-१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनले भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here