जनकपुर — जनकपुरमा रामजानकी विवाहोत्सवको रौनक सुरु भएको छ । सोमबार बेहुली (सीता) पक्षबाट कोसेलीसहित जनकपुरस्थित राममन्दिरमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितको लावालस्कर पुगेको छ । बुधबार हुने रामजानकी विवाह उत्सवको तिलकोत्सव विधि सोमबार राममन्दिरमा आयोजना गरिएको हो, जहाँ बेहुला (राम) र बेहुली (सीता) पक्षबाट हजारौंको सहभागी थिए ।
जिल्ला प्रशासन कार्यालय, धनुषाले कोरोना संक्रमणका कारण विवाह उत्सवमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने भने पनि तिलकोत्सव समारोहमा सहभागी धेरैजसो मास्कविहीन थिए । कोरोना महामारीकै कारण गतवर्ष विवाह उत्सव औपचारिकतामा मात्रै मनाइए पनि यसपालि भव्य आयोजना गरिएको छ । जानकी मन्दिरले सात दिनसम्म विवाह महोत्सव मनाउने निर्णय गरेको छ । शुक्रबारदेखि आरम्भ भएको विवाह महोत्सवका लागि जानकी मन्दिरमा विशेष तयारी गरिएको छ । जानकी मन्दिरलाई विवाह महोत्सवका लागि बेहुलीझैं सिंगारिएको छ ।
त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वास छ । महोत्सवलाई केन्द्रित गरी जनकपुरमा सुरक्षा सतर्कता बढाइएको छ । जानकी मन्दिर परिसर र बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ । मेला व्यवस्थापनका लागि अन्य जिल्लाबाट १ हजार ५ सय जना नेपाल प्रहरी र सशस्त्र प्रहरी जनकपुरमा ल्याएर परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले बताए ।








