वीरगन्ज — ‘हाम्रो खोप हाम्रो सुरक्षा, खोप लगाऊँ, सुरक्षित बनौं’ नारासहित पर्सामा १८ वर्षमाथि उमेर समूहका व्यक्तिका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा यही मंसिर २२, २३ र २४ गते कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गरिने जिल्ला खोप समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

कोभिड १९ विरुद्धको खोप लिन छुटेका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन खोप समन्वय समितिले आह्वान गरेको छ । स्वास्थ्य संस्था बाहेक वीरगन्ज बसपार्क यात्री प्रतिक्षालय र घन्टाघरको प्रहरी बिटमासमेत खोप केन्द्र राखिने स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

खोप समन्वय समितिका अनुसार २०७८ साउनयता ७ पटक खोप अभियान सञ्चालन भइसकेका छन् । पर्सामा हालसम्म १ लाख ३२ हजार १२८ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३६८ रहेको छ । जिल्लामा हालसम्म ३० प्रतिशतले मात्रै खोप लगाएका छन् ।

विगतमा पर्सा दुईपटक कोरोना संक्रमणको केन्द्र बनिसकेको छ । ‘नया’ भेरिएन्टको संक्रमण भित्रिन नदिन, भित्रिहालेको खण्डमा संक्रमितको उपचार गर्न आवश्यक तयारीहरू भइरहेका छन्,’ प्रजिअ ढकालले भने, ‘साथै आइपरेको अवस्थामा यसको लागि जिल्लाका सबै निकाय तयारी अवस्थामा छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here