सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनु भएको छ ।बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताउनु भएको हो । उहाँले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताउनु भयो । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भएपनि गठबन्धनलाई कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको बताउनु भयो ।अध्यक्ष दाहालले भन्नुभयो, ‘न्याय भनेको सामान्यतया एउटा स्वतन्त्र र गरिमामय संस्था हो । मानिसहरुले अन्तिममा गएर न्याय खोज्ने भनेको न्यायलय, अदालतमा गएर नै हो, तर अदालत भित्र अहिले जे समस्या देखिएको छ, त्यो पक्कै पनि राम्रो कुरा होइन । त्यसकारण हामीले गठबन्धनको तर्फबाट पाँच वटै पार्टीको यसमा गम्भीर ध्यानाकर्षण भएको छ, यसको छिटो भन्दा छिटो समाधान हुनुपर्छ भन्ने हामी ठान्दछौँ । यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउन सक्दा राम्रो हुन्छ भन्ने कुरासम्म हामीले बोलेका छौँ । आज भोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर जरुरी परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानको लागि के सहयोग गर्न सकिन्छ त्यतातिर सोचाइ बन्छ, मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ, यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन । यो समाधान हुन्छ र अहिले गठबन्धन जसरी सकारात्मक ढंगले अगाडि बढेको छ त्यो निरन्तर ढंगले जान्छ भन्ने कुरा नै हो ।’अध्यक्ष दाहालले ५ दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताउनु भयो । उहाँले गढबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रियसभामा खालि १९ सिटको चुनाव मिलेर लड्ने पनि बताउनु भयो । अध्यक्ष दाहालले प्रतिनिधिसभाको उपचुनाव र प्रदेशसभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिष्पर्धा गर्ने बताउनु भयो ।अध्यक्ष दाहालले भन्नुभयो, ‘अर्को गठबन्धनको तपाईहरुलाई थाहा नै छ, ढिलो भए पनि ५ दलिय समन्वय समिति भनेर एउटा उच्चस्तरमा एउटा संयन्त्र बनाएका छौँ, त्यो पार्टीहरुको बीचको संयन्त्र हो । त्यो सरकारलाई निर्देशन गर्ने वा सरकार भन्दा माथि भनेर कतिपयले भन्छन्, त्यो सरकार भन्दा माथि होइन, दुनियाँमा जहाँ पनि संयुक्त सरकार हुँदा ती संयुक्त सरकारमा संलग्न पार्टीहरुले एउटा न एउटा संयन्त्र बनाउने नै गर्छन् त्यो पार्टीहरुको बीचको त्यो पार्टीहरुबीचको सम्बन्ध सुदृढ गर्नको लागि हुन्छ, त्यसलाई कमजोर पार्न होइन, सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरुले आपसी समझदारी, सहमति, अन्तरक्रिया र आउने इस्यूहरुमा समान धारणा बनाउनको लागि यस्तो धारणा बनाउने गर्दछन्, हिन्दुस्तानमा हे¥यो भने त्यही छ । गठबन्धनलाई अब आउने चुनावसँग लैजाने बाटो अब क्लियर भयो । एउटा कुरा त अब हामीले तत्काल आउने राष्ट्रियसभामा १९ सिट खालि हुँदैछ, त्यसमा हामी मिलेर चुनाव लड्ने भनेका छौँ । त्यो हामीले नीतिगत, व्यवहारिक पनि निर्णय नै गरिसकेका छौँ । त्यस्तै प्रतिनिधिसभाको उपचुनाव हुने भयो भने वा प्रदेशसभाको भयो भने त्यसमा पनि मिलेर जाने निर्णय गरेका छौँ ।
देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरु सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरुसँग छलफल गरेर मात्र अघि बढाउने बताउनु भयो । उहाँले सुदूरपश्चिम सरकार नढल्ने बताउनु भयो । अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसीसी पास गरिने बताउनु भयो । उहाँले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकै पटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउने बारेमा छलफल भइरहेको पनि दोहोयाउनु भयो ।








