चितवन ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थी, प्रशिक्षक वर्ग साथै चितवन जिल्लास्थित विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई सोही शिक्षालयमा मंगलबार निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।No description available.
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शिक्षालयमा संचालित विभिन्न तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी जस्तो गर्व गर्न लायक सेवामूलक पेशा छनौट गरेकोमा बधाई तथा धन्यवाद दिँदै नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्ना जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिनुभयो । प्रशिक्षण प्रदायक संस्थाहरुमा कार्यरत प्रशिक्षकवर्गले नव आगन्तुक प्रशिक्षार्थी प्रहरी कर्मचारीहरुमा निहित व्यक्तिगत सिर्जनशिलतालाई यथावत रहन दिनुपर्ने तथा असल प्रशिक्षकले मात्र असल जनशक्ति उत्पादन गर्न सक्ने हुँदा प्रत्येक प्रशिक्षक आफैमा आदर्श हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कर्तव्यपालनाको सिलसिलामा आउन सक्ने विभिन्न आरोह अवरोहहरुलाई पेशागत निष्ठा र धर्म अनुसार सामना गर्दै व्यक्तिगत आचरण र व्यवहारमा समय सापेक्ष सुधार गरी आफ्नो तह अनुसारको जीवन जिउने शैली अनुशरण गरेमा मात्र प्रहरी पेशालाई गौरवशाली बनाउन सकिने बताउनुभयो । प्रत्येक प्रहरी कर्मचारीहरुले पारिवारिक जीवन र पेशागत जीवनमा सामञ्जस्यता मिलाई प्रभावकारी र नतिजामूलक कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।No description available.
प्रहरी व्यवहार निष्पक्ष र यथोचित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “प्रहरी पोशाक र पेशाप्रति स्वाभिमानी हुन सिक्नुस् ।” हरेक काम कारवाहीमा पारदर्शी भई शून्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी संगठनको नीति विपरित काम गर्ने जो कोही कारवाहीको भागिदार हुने उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसर, कार्यालय तथा आवस गृहको निरीक्षण समेत गर्नुभएको थियो ।
उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, उक्त शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी लगायत अन्य प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here