काठमाडौं ५ पुस ।

प्रतिनिधिसभाका निर्वाचित सांसदहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले सपथ ग्रहण गराउनु हुने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्था अनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताउनु भएको हो । त्यसका लागि पुस ७ गते बिहीबार अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सपथग्रहण कार्यक्रम तय गरिएको छ । प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई सपथ ग्रहण गराएपछि मात्रै उहाँले अन्य सांसदहरुलाई सपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि पुस ६ गते बुधबारको कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिनु भयो । नागरिकतामा उल्लेख भए अनुसार ८१ वर्ष हुनु भएका जबराको विक्रम संवत १९९८ मंसीर २४ गते जन्म भएको थियो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुग्नु भएपनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित हुनु भएको थियो । उहाँले अहिले पनि नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको पनि संघीय संसद सचिवालयले स्पष्ट पारेको छ । संसद सचिवालयले मातृभाषामा सपथ लिने व्यवस्था पनि गरेको छ । मातृ भाषामा सपथ लिन चाहने सांसदहरुलाई सपथ ग्रहणको ढाँचा विवरण अनुसार त्यसलाई मातृभाषामा उल्था गर्न पत्राचार गरिएको छ । सपथ ग्रहण गराउनु ३ दिन अघि नै सो उल्था गरिएको सपथग्रहणको कपी संसद सचिवालयमा सांसदहरुले पेश गर्नुपर्ने हुन्छ । प्रवक्ता पाण्डेले अहिले मातृभाषामा सपथ लिन चाहनु हुने सांसदहरुको विवरण संकलनको काम भईरहेको बताउनु भयो । गत मंसीर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरु निर्वाचित हुनु भएको छ । उहाँहरुलाई सपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संघीय संसद सचिवालयले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here