शैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।
जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको वसोवास छ ।
ती परिवारका चारसय भन्दा बढी सदस्यले गाँउका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ बितिसकेको छ ।
सो गाउँमा दलितको मात्रै वस्ती रहेको छ । सो गाउँमा विहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुनेगरेको बताइएको छ । अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरुलाई सास्ती हुनेगरेको ६८ वर्षिया कालिका दर्जीले गुनासो गरिन् ।“बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ”, बुधबार दिउँसो धारामा पानी भर्न आएकी उनले भनिन् “११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ,त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।”
उनको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गरिन् । “घरको अरु काम गर्नै भ्याइदैन,विहान धारामै वित्छ,काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ” उनले भनिन्“अरु गाउँका घरघरमा धारा छन्,हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।”
यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका बुद्धिजीवि शिब बानियाँले जानकारी दिए । “एउटा मात्रै धारो,१०३ घर परिवार,पानी भर्नका लागि तछाँडमछाड त हुने नै भयो, अनि शुरु हुन्छ झगडा,मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन,सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ । यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ ” उनले भने।








