काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालयको छिटो टुंगो लगाउन भनेको छ ।
मंगलबार काठमाडौंको बोहोराटारस्थित वरिष्ठ नेता पौडेलको निवासमा बसेको पौडेल पक्षको बैठकले आफ्नो पक्षलाई दिने मन्त्रालय बारेको बिषयमा काम नभएको भन्दै प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो ।
अहिले सत्तारुढ दलका नेताहरुबीच मन्त्रालयको बाँडफाँडबारे छलफल भईरहेको छ । मंगलबार बिहान बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डा विषयमा कुरा नमिलेपछि विना निष्कर्ष बैठक सकिएको थियो ।
बैठक सभापति तथा अध्यक्षहरू मात्र फेरि बैठक बस्ने गरी सकिएको थियो । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी गर्ने कुरा चलिरहेका बेला यता कांग्रेसको पौडेल पक्षले भने आफुहरुले पाउन मन्त्रालयबारे देउवालाई सोधेको छ ।
पौडेल पक्षको बैठक बारे जानकारी दिँदै नेता अर्जुननरसिंह केसीले भने – ‘मन्त्रिमण्डल विस्तारको कुराले विषय प्रवेश गर्यो । मन्त्रिमण्डलमा नेपाली कांग्रेसले कति पाउने र नेपाली कांग्रेसभित्र पनि हामीहरुको जुन पक्ष छ, त्यसलाई कति दिने भन्ने कुरामा अहिले पनि टुंगो भाको छैन ।’
केसीले बैठकमा सबैभन्दा पहिला कति जनाले मन्त्रालयले पाउने भन्ने स्पष्ट हुनुपर्ने बन्ने बिषयमा कुराकानी भएको जानकारी दिए ।








