कलैया – बाराका दुई वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखले महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजेका छन्।
बाराको परवानीपुर र प्रसौनी गाउँपालिकाका प्रमुख र उपप्रमुखले मंगलबार लोसपाको पक्षमा सनाखत गरेका हुन्। उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर लोसपाको पक्षमा सनाखत गरेका हुन्।
आफूसहित उपप्रमुख र गाउँपालिकाका दुई जना वडाध्यक्षहरुले लोसपामा सनाखत गरेर आएको परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहले जानकारी दिए। आफूसहित गाउँपालिकाकी उपप्रमुख सावित्री देवी, वडा नम्बर १ का वडाध्यक्ष मिश्री महतो र वडा नम्बर ३ का वडाध्यक्ष अनिल रामले पनि लोसपाको पक्षमा सनाखत गरेको उनले बताए।
साथै गाउँपालिकाका १३ जना बोर्ड सदस्यहरुले लोसपाको पक्षमा आजै जिल्ला निर्वाचनमा गएर सनाखत गरेर आएको साहको भनाइ छ।
‘म सहित उपप्रमुख र वडाध्यक्षसहित हामी १३ जना जनप्रतिनिधिहरुले लोसपा रोजेका हौँ,’ उनले भने, ‘आजै हामी सबैले सनाखत गरेर पनि आइसक्यौँ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा परवानीपुर गाउँपालिकाका प्रमुख र उपप्रमुख साविक राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित भएका थिए।
यसैगरि बाराको प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ता र उपप्रमुख गीता साहले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। मंगलबार नै जिल्ला निर्वाचन कार्यालयमा गएर आफूसहित उपप्रमुख साहले लोसपाको पक्षमा सनाखत गरेर आएको गुप्ताले जानकारी दिए।
साथै गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष सुरेश गुप्ता, ३ का बैजनाथ साह कानु, ४ का आनन्द गुप्ता र वडा नम्बर ५ का वडाध्यक्ष सनै साह तेलीले पनि लोसपाको पक्षमा सनाखत गरेको गुप्ताले बताए।
सो गाउँपालिकाका कुल २५ जना बोर्ड सदस्यहरुले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको उनले जानकारी दिए।
यस गाउँपालिकाका प्रमुख गुप्ता र उपप्रमुख साह पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा साबिक राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित भएका थिए। निर्वाचित जनप्रतिनिधिहरुलाई सनाखत गराउनको लागि त्यस क्षेत्रबाट निर्वाचित सांसद एवं हाल लोसपा केन्द्रिय कार्यकारिणी सदस्य एकबाल मियाँ, प्रदेश सांसद एवं केन्द्रिय कार्यकारिणी सदस्य जितेन्द्र सोनलसहित जिल्ला निर्वाचन कार्यालय पुगेका थिए।







