रौतहट २०असार ।
सिर्सिया नदीको बाढीले वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँ वस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् । शनिबार दिउँसो रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी जमेको थियो । घर–घरमा पानी पसेको छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक भइरहेको छ । डुबान प्रभावित स्थानीय आफन्त र छिमेकको घरमा गएर बसेका छन् । कृषि औजार अनुसन्धान कार्यालय रानीघाटको पछाडिबाट ३१ घरधुरीका ८४ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले शनिबार साँझ उद्दार गरेको छ । ४७ जना पुरुष, २२ जना महिला र १५ जना बालबालिकालाई उद्धार गरिएको हो । पछिल्ला दिनमा सिर्सिया नदी ‘ओभर फ्लो’ भएर बस्तीमा पसिरहेको छ । नदी क्षेत्र अतिक्रमण गरिएको, नदीको बेस माथि उठेको र अव्यवस्थित सहरीकरणका कारण डुबानको समस्या आएको विज्ञहरुको भनाइ छ । सिर्सियाको बाढी ओभर फ्लो भई निस्केको पानीले वीरगञ्ज–पोखरिया सडक खण्डमा पर्ने एउटा कल्भर्ट समेत भत्काएको छ । जसले गर्दा वीरगञ्ज–पोखरीया सडकखण्डमा साँझ आवागमनमा समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here