मलङ्गवा (सर्लाही), २० भदौ |

नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलबार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराउनुभयो ।सो अवसरमा अर्थमन्त्री यादव र मलङ्गवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्तरुपमा पार्कको उद्घाटनसमेत गर्नुभयो । कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रुपमा रहेको बताउनुभयो ।राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रविम्बित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “यो देशमा पटकपटक मधेसीले राष्ट्रियताको परिचय दिनुपर्छ ।देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता काठमाडौँमा खोज्ने गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।” अर्थमन्त्री यादवले आउने दिनमा मलङ्गवा नगरपालिकाका साथै सर्लाहीमा प्रदेश सरकारको लगानीमा विभिन्न विकास निर्माणको काम गरिनेसमेत बताउनुभयो ।मधेस प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त रु ३० लाखको लागतमा मलङ्गवा नगरको गौरवका रुपमा पार्क निर्माण गरी राष्ट्रिय झण्डा राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिकोसमेत सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here