काठमाडौँ, २० भदौ |

नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।“अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ”, महासङ्घले भनेको छ ।एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार सङ्कलनका क्रममा पत्रकार दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेको अनलाइनखबर डटकमले जनाएको छ ।महासङ्घले आज विज्ञप्ति जारी गरी स्वतन्त्रापूर्वक पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो भनेको छ । “महासङ्घ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याएर प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here