०४ असार होन्डुरस: होन्डुरसको एक कारागारमा कैदीहरुको समूहबीच झडप हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीसहित ३९ जना घाइते भएका छन् ।

उच्च सुरक्षाका बीच बिहीबार तीन घण्टासम्म यस्तो झडप चलेको थियो । कारागारभित्रै बारियो १८ ग्याङ भनी चिनिने समूहका सदस्यहरु विद्रोही मारा साल्भात्रुचा १३ ग्याङको इलाका ला तोल्भामा प्रवेश गरेपछि झडप सुरु भएको बताइएको छ ।

१५०० कैदीहरु राखिएको कारागारभित्र भएको उक्त झडपमा गोली समेत चलाइएको थियो । घाइतेमध्ये १३ जना गम्भीर घाइते छन् ।

होन्डुरसका कारागारहरु २०१९ देखि सैन्य नियन्त्रणमा छन् । यहाँका कारागारहरु सडकका दुई ठूला समूह र संस्थागत रुपमा फैलिएका आपराधिक समूहबीच झडपको अखडाको रुपमा चिनिन थालेपछि सरकारले यसको नियन्त्रणको जिम्मा सेनालाई दिएको थियो ।

२०१९ को डिसेम्बरमा पर्यटकीय सहर तेलाको एक कारागारमा यस्तै कैदीहरुको समूहबीच झडप हुँदा १८ जना कैदीको ज्यान गएको थियो । त्यसको तीन दिनपछि सोही झडपको बदलाको रुपमा अर्को कारागारमा भएको झगडामा १९ जना मारिएका थिए ।

होन्डुरसका २५ जति कारागारमा क्षमता भन्दा बढी २२ हजार कैदीलाई राखिएको छ । जहाँ मानवअधिकारकर्मी र अन्य संघसंगठनले कैदीहरुका लागि खाना, बसोबास र सरसफाइ जस्ता आधारभूत आवश्यकता पूरा गरिदिनुपर्ने भन्दै आवाज उठाइरहेका हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here