काठमाडौं ६ पुस ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताउनुभएको छ । बुधवार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताउनुभएको हो । आफ्नो प्रयास भने पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने उहाँको भनाई थियो । महामन्त्री थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताउनु भयो । महामन्त्री थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नरहेको उल्लेख गर्दै त्यसबाट आफू निराश नहुने पनि बताउनु भयो ।महामन्त्री थापाले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुला भएको समेत बताउनु भयो । उहाँले सरकारको आलापालोको कुरा र राष्ट्रपतिलगायतका पदहरुको बाँडफाँटको विषयमा पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूहरुलाई मान्य नहुने पनि स्पष्ट पार्नुभयो । पार्टीको संसदीय दल र पार्टीको सम्बन्धित कमिटीमा निर्णय गरेर मात्रै सरकारको आलोपालो, राष्ट्रपति लगायतका पदहरुको बाँडफाँटको विषयलाई पारदर्शी ढंगले टुंग्याउनु पर्ने उल्लेख गर्दै महामन्त्री थापाले त्यस्ता निर्णयलाई व्यक्तिगत तवरले अघि बढाए मान्न नसकिने बताउनु भयो । महामन्त्री थापाले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि आजैबाट पहल गर्नुपर्ने धारणा समेत राख्नुभयो ।








