रेडखबर डेक्स ।
नेपाली काग्रेसका सांसद मोहम्मद आफताव आलमविरुद्ध विभिन्न तीनवटा आरोपमा अभियोग पत्र दर्ता भएपछि बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
संविधानसभाको पहिलो निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोट र विस्फोट हुँदा घाइते भएकालाई इँट्टा भट्टामा हालेर जिउँदै जलाएर मारेको आरोपमा आलमलाई गएको असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।
आलम पक्राउ पछि आलमविरुद्ध रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण सम्बन्धि अभियोग पत्र दर्ता भई रौतहट जिल्ला अदालतको ईजलास नं.४ का जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।
बयानका क्रममा आफताब आलमले जिल्ला न्यायाधीश दीपक ढकाल सहभागी इजलासमा न्यायाधीश ढकालले गरेको प्रश्नहरुको उतर दिँदै उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न आरोप लगाएको दाबी गर्दै आफू निर्दोष रहेको जिकीर गरेका छन् ।
आलमसंग गरिएको प्रश्न र आलमको जवाफ ः
प्रश्न– नेपालको संविधानले तपाई आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको छ । यदि तपाईले आफ्नो विरुद्ध बोल्नु भयो भने त्यो तपाईको विरुद्धमा प्रमाण लाग्ने कुराको जानकारी गराइएको छ । यसको मतलब बुझ्नुभयो नि ?
जवाफ– नेपालको संविधानले आफ्नो विरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको कुरा मलाई थाहा छ । मैले आफ्नो विरुद्ध बोल्यो भने मेरो विरुद्धमा प्रमाणमा लाग्ने कुरा मलाई बुझाउँदा बुझेँ । जानकारी पाएँ ।
प्रश्न– मो मुद्दाबाहेक तपार्इंउपर फौजदारी मुद्दा परेको छ–छैन, परेको भए फैसला भई सजाय पाएको तथा हाल कारबाही अवस्थामा चलिरहेको छ–छैन ?
जवाफ– प्रस्तुत मुद्दाबाहेक मउपर कुनै फौजदारी मुद्दा परेको छैन । कारबाही अवस्थामा नरहेको हुँदा सजाय पाउने कुरा भएन । कुनै सजाय पाएको छैन ।
प्रश्न– प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता तथा जाहेरवालाहरू श्रीनारायण सिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरीशंकर राम चमारसँग चिजान, लेनदेन, कारोबार, रिसइबी छ–छैन ?
जवाफ– प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता र जाहेरवालाहरू श्रीनारायणसिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरी शंकर राम चमारलाई मैले चिनेको छैन । नचिनेको हुँदा नाता, लेनदेन, रिसइबी, कारोबार केही पनि छैन ।
प्रश्न– तपाई उपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि तपाईंले प्राप्त गर्नुभयो, पढ्नुभयो, अभियोगका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार हुनुहुन्छ ?
जवाफ– म उपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि मैले प्राप्त गरेँ । अभियोगको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन म तयार छु । दिन सक्छु ।
प्रश्न– तपाइँ वारदात भएको भनिएको २७ चैत ०६४ बिहानदेखि बेलुकासम्म कुन कुन ठाउँमा के गर्दै हुनुहुन्थ्यो ?तपाईको को–कोसँग भेटघाट भएको थियो ?
जवाफ– वारदात भएको भनिएको मितिमा निर्वाचन प्रचारप्रसार गर्न बन्द थियो । त्यसैले म सो दिन बिहानदेखि बेलुकासम्म म राजपुरअन्तर्गतको आफ्नै निवासमा थिएँ । साथीहरूसँग निर्वाचनको अवस्थाबारेमा व्यवस्थापन गर्ने विषयमा छलफल गरी बसेको थिएँ ।
प्रश्न– मृतक ओसी अख्तर मियाँको जुत्ता, मोजा, स्विटरसमेत मेरो छोराको हो भन्ने ६ वैशाख ०६५ मा निजकी आमा रोक्साना खातुनले गरी दिएको सनाखत कागजातमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाई के भन्नुहुन्छ ?
जवाफ– प्रस्तुल मुद्दाको वारदात भनिएकोमा सो वारदात भएकै छैन, तर कसरी जुत्ता, स्विटरसमेत सनाखत गरेको कुरा हुन्छ र ? उक्त कागज झुटा हो ।
प्रश्न– २७ चैत ०६४ मा वारदातको सम्बन्धमा ३० चैत ०६४ मा तत्कालीन उम्मेदवार शैलेन्द्र साहसमेतले जिल्ला प्रहरी कार्यालयमा दिएको संयुक्त निवदेनमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईंको भनाइ के छ ?
जवाफ– त्यस दिन तत्कालीन उम्मेदवार शैलेन्द्र साहसमेतले जिल्ला प्रहरी कार्यालय रौतहटमा दिएको संयुक्त निवेदनमा उल्लिखित व्यहोरा मलाई पढी सुनाउँदा सुनेँ । निजसमेतले दिएको उक्त निवेदन व्यहोरा झुटा हो । ०६४ सालको चुनावमा निज शैलेन्द्र साह एमालेको तर्फबाट मेरो प्रतिद्वन्द्वी भई चुनावमा उम्मेदवार भएको र निज लगभग बाह्र हजारको अन्तरले पराजित भएको कारण सोही रिसइबीले मउपर सो निवदेन दिएका हुन् । निवेदनमा लेखिएबमोजिमको व्यहोरा झुटा हो ।
प्रश्न– विस्फोट भएको भनिएको सेख इद्रिसको गोठघरमा १४ वैशाख ०६५ मा भएको घटनास्थल मुचुल्कामा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईको भनाइ के छ ?
जवाफ– प्रस्तुत मुद्दामा कुनै घटना घटेकै छैन । तसर्थ उक्त मितिमा भएको घटनास्थल मुचुल्काबारे मलाई थाहा छैन ।
प्रश्न – अन्य प्रतिवादीहरू मोहम्मद महताव आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज भनिने शेख सराज, शेख फजेल हक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहसँग तपाईको चिनजान छ छैन ? नाता सम्वन्ध पर्छ पर्दैन ? चिनजान भए निजहरूको वतन खुलाइदिनुस् ।
जवाफ– प्रतिवादीमध्ये मोहम्मद महताव आलम मेरा सहोदर भाइ हो । अन्यलाई म चिन्दिनँ । त्यसो हुँदा उनीहरूको बतन म खुलाउन सक्दिनँ ।
प्रश्न – हत्या गरिएको भनिएको ओसी अख्तर, त्रिलोकप्रताप सिंह चिन्नु हुन्छ ? निजहरू तपाइको चुनाव प्रचारमा थिए ?
जवाफ– उनीहरूलाई मैले चिनेको छैन । त्यसो हुँदा ०६४ को चुनावमा मेरो प्रचारमा सहभागी गराएको छैन ।
प्रश्न– ०६४ को चुनावमा तपाईको प्रचारमा भारतीय नागरिक पनि समेत थिए थिएनन् ?
जवाफ– ०६४ को चुनावमा मेरो प्रचार प्रसारमा भारतीय नागरिक कोही पनि सामेल थिएनन् ।
प्रश्न – १८ वैशाख ०६५ मा ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जाहेरी दरखास्तमा उल्लेखित व्यहोराको सम्वन्धमा तपाईको राय के छ ?
जवाफ– ओसी अख्तरको आमा रोक्साना खातुनले दर्ता गराएको जोहरी दरखास्तमा उल्लेखित व्यहोरा सुनेँ । घटना भएको छैन । सवै काल्पनिक र झुटा हुन् ।
प्रश्न– ९ असार ०६५ मा अनुसन्धानका क्रममा गरेको बयान पढी सुनाइन्छ । त्यो बयान के हो ? त्यसमा लगाईको सही छाप तपाईको हो ?
जवाफ– बयान सुने । ठिक छ । बयान म आफैले गरेको हुँ । बयानमा गरेको सहीछाप मेरै हो ।
प्रश्न– २० बैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लेखित बयानको बारेमा तपाइको भनाइ के छ ?
जवाफ– २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लेखित बयान सुनेँ । घटना भएको छैन । सवै काल्पनिक र झुटा हुन् ।
प्रश्न– घटनाको प्रत्यक्षदर्शी सराजुलले झुटा व्यहोरा लेखाउनुपर्ने कारण के छ ?
जवाफ– पटक पटक विद्यार्थीकालदेखि राजनीति गरी ०५४ सालदेखि भारी मत ल्याई निर्वाचित भइ सांसद र पटक पटक मन्त्री भई काम गरेको र हाल पनि सांसद भएको हुँदा मेरो विरोधीहरूले सो कुरा देख्न सकेनन् । त्यसैले फसाएका हुन् । मेरा राजनीतिक पृष्ठभूमि सक्न यसो गरेका हुन् ।
प्रश्न– विस्फोट हुँदा घाइते सफी अहम्मदको घाउजाँच रिपोर्टमा उल्लेखित व्यहोराको सम्वन्धमा तपाई के भन्नुहुन्छ ?
जवाफ– वरदात भएको छैन । उनले कहाँ के गरेर घाइते भई कुन कुन चोट लागि कहाँबाट उपचार गराई घाउँजाँच फराम भराए मलाई थहा छैन ।
प्रश्न– राजा इँटा उद्योगमा भएको १५ वैशाख ०६५ मा भएको मुचुल्का पढी सुनाइन्छ । यसमा तपाईको भनाइ के छ ?
जवाफ– घटना भएको छैन । त्यसो हुँदा राजा इँटा उद्योगबाट प्रहरीले खरानी लगे नलगेको थाहा भएन ।
संभार क्यानाडा नेपाल ।