Original Title: Aa_FC3_58a.jpg

दमौली ९तनहुँ०, ९ असोज ः

डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ ।दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।शाखा प्रमुख सोतीले भन्नुभयो, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।

नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् ।एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधँै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here