भक्तपुर १, कात्तिक । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले षड्यन्त्रमूलक रुपमा कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिन थालेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि भक्तपुरको बोडेमा सुरु भएको दुईदिने प्रशिक्षणमा बोल्दै उहाँले सरकारले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी षड्यन्त्र सुरु गरेको बताउनुभयो उहाँले भन्नुभयो, ‘१२ वर्षअघिको घटनालाई लिएर आलममाथि सरकारले अहिले झुटो मुद्दा लगाएर पक्राउ गर्यो, सरकारले १२ वर्षसम्म के हेर्याे, १२ वर्षसम्म केही नगर्ने अहिले आएर पक्राउ गर्ने ? यसबाट कुरा प्रष्ट हुन्छ कि सरकारको दुःख दिने नियत प्रष्ट छ’, उहाँले भन्नुभयो, ‘तर ढिलोचाँडो साथीहरुले न्याय पाउने छन् ।” सभापति देउवाले दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउँदै देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको कार्यकर्ता बनाएको आरोप लगाउनुभयो । उहाँले जनताको करबाट तलब खाएर कुनै पार्टीको वकालत गर्न नहुने बताउँदै यदि गरे त्यस्ता कर्मचारीलाई एक एक गरेर हिसाब गर्ने बताउनुभयो । ‘नेकपाले निर्वाचनमा दुई तिहाई ल्याएर सरकार बनाएको हो, कम्युनिष्ट राज्य होइन । यदि सरकार थप निरंकुश बन्दै गए आन्दोलन गरेर लखेट्नुपर्छ’, उहाँले भन्नुभयो सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने भनाइ राख्दै उहाँले कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी राम्रो काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उहाँले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । पौडेलले कांंग्रेस विकल्पको रुपमा उदाउन नसके तानाशाहको हातमा देश पुग्ने बताउनुभयो । कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले कांग्रेसले आसन्न उपभुनाव जसरी पनि जित्नुपर्ने बताउँदै पार्टी एक हुन जरुरी रहेको बताउनुभयो । महामन्त्री डाक्टर शशांक कोइरालाले सरकार नागरिकका स्वतन्त्र संस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको बताउनुभयो । देशलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
Home मुख्य समाचार आलमकाे बचाउमा कांग्रेस नेतृत्व : षड्यन्त्र गरी सरकारले हाम्रा नेता कार्यकर्ता फसाउन...