तनहुँ, १ कात्तिक (रासस) |

चार वेद १८ पुराणका रचयिता व्यास ऋषिको जन्मभूमि व्यास शिवापाञ्चायन क्षेत्रमा आजदेखि एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ ।व्यास ऋषिको तपोभूमि शिवापाञ्चायन क्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त पर्वको आयोजना गरिएको हो । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा आजदेखि कात्तिक ३० गतेसम्म महामिलन पर्वको आयोजना गरिएको हो ।अट्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसार गरी धार्मिक पर्यटनका रुपमा प्रवद्र्धन गर्न लागिएको वेद अनुयायी प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिनुभयो । व्यास भूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरुको धार्मिकस्थल बनाउन एकमहिने अखण्ड हरिनाम सकीर्तन एवं एक सय आठ दीप प्रज्वलन गरिने छ ।कार्यक्रममा कात्तिक १६ गते संस्कृतिविद् डा जगमान गुरुङ, कात्तिक २४ गते महेश सन्यास आश्रम देवघाटधामका स्वामी दुई हजार आठ रमणानन्द गिरीजी महाराजको उपस्थिति रहने प्रतिष्ठानका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताउनुभयो ।उक्त कार्यक्रममा छिमेकी राष्ट्र भरतबाट एक सय आठजना साधुसन्तको समेत उपस्थिति हुने व्यासका अध्येता काशिनाथ न्यौपानेले जानकारी दिनुभयो । हिन्दू, बौद्ध, शिखर, जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय सबैको एकताले मात्र ओमकार परिवार बलियो हुने भएकाले एकै ठाउँमा बसेर महापर्व मनाउन लागेको उहाँले बताउनुभयो ।धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसार गरी पर्यटन आवागमनमा वृद्वि गराउन महामिलन पर्वको आयोजना गरिएको व्यास नगरपालिकाका पूर्वप्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here