दाङ,५,असोज ।
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् ।बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।घाइते अन्य दश जनाको उपचार जारी छ । ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख सिंहले बताए । घाइतेहरुको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ ।सुधार गृहमा लागु औषध, डाँकाचोरी, कर्तव्य ज्यान लगायत मुद्दाका २५४ जना छन् । उनीहरु १५ देखि ३० वर्ष उमेर समूहका छन् ।उक्त सुधार गृहका लागि सिभिलमा १० जना प्रहरीहरुमात्र रहने गरेका छन् । उनीहरुले स्थिति सम्हाल्न नसकेपछि थप प्रहरी तैनाथ गरिएको छ । तर कानुनअनुसार बाल सुधार गृहमा बल प्रयोग गर्न नपाउने भएकाले प्रहरीले समस्या समाधानका लागि समन्वयमात्र गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् नारायण डाँगीले जानकारी दिए । ‘हामी सुधार गृह बाहिर छौं । स्थिति अहिले पनि असहज नै छ । बल प्रयोग गर्न नमिल्ने भएकाले समन्वय गर्ने काम मात्र भइरहेको छ,’ उनले भने ।यसअघि प्रहरीले विवाद समाधानको प्रयास गर्न मानव अधिकारकर्मीको टोलीलाई पनि सुधार गृहमा बोलाएको थियो । तर स्थिति सम्हाल्न नसकेपछि उनीहरुले पनि फर्किएका छन् ।सोही बाल सुधार गृहमा राखिएकाहरु २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । सोही वर्षको माघ अन्तिम साता सुधार गृहमा आगजनीसमेत भएको थियो ।यसअघि पर्साको वीरगञ्ज र भक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो । बाँकेबाटै भक्तपुर र भक्तपुरबाट वीरगञ्ज लगिएकाहरुबाटै सुधार गृहमा विवाद र तनाव सिर्जना भएको प्रहरीको भनाइ छ ।







