काठमाडौं,१८,भदौ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ती हुने गरेको छ नि ? भनेर प्रश्न गरेका छन् ।मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे ।सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानून र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।अब यो न्यायाधीश नियुक्तीको सन्दर्भमा वास्तवमा यो न्यायालयमा न्यायाधीश नियुक्ती न्यायोचित ढंगले गर्ने कुरा भइरहेको छ । भागबण्डा हुँदैन सभामुख महोदय । छिटो, छरितो रुपमा न्याय निरुपणका लागि सर्वोच्च अदालत आफैँले विभिन्न प्रयासहरु गरिरहेको छ भने आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रवन्धमार्फत न्याय सम्पादनलाई छिटो, छरितो बनाउनका लागि नेपाल सरकार क्रियाशील रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु । मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाई हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।








