काठमाडौं,२१,साउन ।
प्रेस काउन्सिल नेपालले यथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गर्नु भएको हो । नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पार्नु भयो । कुनै दलको केन्द्रिय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्वद्ध निकायहरु सचेत हुनुपर्ने बताउनु भयो । उहाँले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताउनु भयो । अध्यक्ष बस्नेतले भन्नु भयो, ‘पहिला आफू पत्रकार होकि होईन, एकीन हुनुपर्छ है । पत्रकार भएर गरिएको काममा नियमन गर्न कुनै समस्या छैन । त्यसका लागि प्रेस काउन्सिल छ । सोसल मिडियाहरु पनि पत्रकारले चलाउने वा मिडियो हाउसले चलाउने विषयमा पनि समस्या छैन । त्यो पनि दायरा भित्र आउँछ, प्रेस काउन्सिलले हेर्छ । तर पत्रकारको आवरणमा गैर पत्रकारबाट हुने काममा भने सचेत हुनुपर्छ । अहिले ठूलो समस्या चाँही पत्रकारको आवरणमा, मिडियाको आवरणमा भेष्टेड इन्ट्रेष्ट राखेर गरिने कामहरुले समस्या ल्याएको छ । त्यो विषयमा हामी एकीन हुनुपर्दछ । यहाँ पत्रकार महासंघको अध्यक्ष पनि हुनुहुन्छ । म विशेष आग्रह पनि गर्न चाहन्छु–हामीले पनि दिने सदस्यता जुन छ, यदि खुकुलो प्रावधान छन भने कसौं । पत्रकारको कार्ड लिएपछि लेख्न पर्छ कि पर्दैैन ? सञ्चार माध्याममा सक्रिय हुनुपर्छ कि पर्दैन ? सक्रिय पत्रकारिता गर्नु पर्छ कि पर्दैन ? अथवा कुनै दलको केन्द्रिय कमिटीमा बस्ने र सँगसँगै आफू पत्रकार सम्वद्ध संघ, संगठनमा बस्ने अनि अझ भोटै मागिदिने काम गर्नु हुन्छ कि हुँदैन ? अस्तीको चुनावको अर्को कुरा पनि सिकायो । मिडिया अर्गानाईजेशनहरुले एकमुष्ट रुपमा फलानो दललाई भोट हालौं भन्ने प्रष्ट कुरा पनि आयो । त्यसमा निर्वाचन आयोगले असहमती जनायो । प्रेस काउन्सिलले आपत्ति जनायो । यस्ता विषयमा पनि प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ जस्ता निकायहरुले ध्यान दिन जरुरी छ । यस विषयमा सञ्चारकर्मी आफैं सचेत हुुनुपर्छ । आफू सचेत भएपछि मात्रै अरुको विषयमा प्रश्न उठाउन सकिन्छ ।’
अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरु आफू सचेत भएमात्रै अरुमाथि प्रश्न उठाउन सकिने पनि पटकपटक दोहो¥याउनु भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरुलाई विवेक पु¥याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले पत्रकारहरु लगानीकर्ताका दासनै हुन भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस कुराले पनि उनीहरुलाई स्वतन्त्र भएर काम गर्ने काममा अवरोध सृजना गरिरहेको तर्क गर्नु भयो । अध्यक्ष पोखरेलले भन्नु भयो, ‘पत्रकारहरु लगानीकर्ताका दासै हुन भन्ने ढंगले आरोप लगाउनु थालियो भने हामी सही ठाउँमा पुग्दैनौं । पत्रकारहरुको विवेक प्रयोग गर्ने वातावरण निर्माणमा कति ध्यान दिन सक्यौं ? राज्यले बनाउने नीति–कार्यक्रमदेखि लिएर पारिश्रमिकलगायतका विभिन्न आयामहरु होलान । त्यो इन्भारोमेन्ट बनाउनुप¥यो । पत्रकारहरुले विवेक पु¥याएर काम गर्ने वातावरण सुनिश्चित गर्नका लागि । अध्यक्ष पोखरेलले राज्यले पत्रकारको हितमा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि गर्नु भयो ।








