रामनगर गाउँपालिकाको १६औं गाउँसभा भव्य रूपमा सम्पन्न, आगामी वर्षका लागि ४१ करोडको बजेट प्रस्ताव
सर्लाही — रामनगर गाउँपालिकाको ऐतिहासिक र गरिमामय १६औं गाउँसभा अधिवेशन आज सभ्य र भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता गाउँपालिका प्रमुख राजाबाबु यादवले गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य माननीय शिवपुजन राय यादव हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा बलरा नगरपालिकाका नगरप्रमुख श्री रामाशंकर प्रसाद कुशवाहा सहभागी हुनुहुन्थ्यो। गाउँपालिकाका वडा नं। १ देखि ७ सम्मका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, पत्रकार, प्रशासनिक अधिकारी, स्थानीय समाजसेवी, भरभलादमी तथा बुद्धिजीवीहरूको विशेष उपस्थिति रहेको यस अधिवेशनमा स्थानीय विकास, जनहितका योजना र नीति–कार्यक्रमबारे गम्भीर छलफल भएको थियो।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल रु। ४१ करोड ३४ लाख ९० हजार ७७६ को बजेट प्रस्ताव प्रस्तुत गरेको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, स्वच्छता तथा सामाजिक सुरक्षालगायतका प्राथमिक क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पारदर्शिता, सुशासन र जनताको सहभागीता सुनिश्चित गर्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए। गाउँसभा उत्साह, हर्ष र सहमतिको वातावरणमा सम्पन्न भएको थियो।








