लेटर अफ क्रेडिट(एलसी) विक्रेतालाई खरिदकर्ताको भुक्तानीको ग्यारेन्टी गर्ने कागजात हो । यसको व्यवस्था भयो भने क्रेता र बिक्रेता दुवैलाई सीमापार कारोबारमा आश्वासन र सुरक्षा प्रदान गर्नेमा विश्वस्त छु ।
ऋतुसिंह वैद्य
अध्यक्ष
नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)

अटो व्यवसायका लागि स्थिर नीति बनाउन दबाब दिइरहेका छौं ः नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले अस्थिर नीति हुँदा नयाँ सामान आउने र पुरानो थन्किने कारण सिङ्गो देशलाई नै घाटा हुने भन्दै स्थिर नीति आवश्यक रहेको बताएकी हुन् ।
उनले भनिन्,‘हामीले नीतिलाई स्थिर नगर्ने हो भने जहिले पनि नयाँ सामान आउँछ पूरानो थन्किन्छ । यस्तो भयो भने देशलाई नै घाटा हुन्छ । आफ्नो नोक्सान त छँदै छ तर देशको विकास हुनुपर्यो । सबै जनाको विकास हुनुपर्यो । करमा बृद्धि नहुँदा विद्युतीय सवारी साधन(इभी)का लागि एकदमै राम्रो भयो साथै निर्माणका लागि पनि राम्रो भएको छ । धेरै व्यवसायीहरु एसेम्बलको काममा लागि सकेका छन् । तर त्यसमा सम्बोधन भएको छैन् ।’
त्यस्तै उनले अन्तर्राष्ट्रिय व्यापारका लागि लेटर अफ क्रेडिट(एलसी)को व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव समेत दिइन् ।
उनको अनुसार लेटर अफ क्रेडिट विक्रेतालाई खरिदकर्ताको भुक्तानीको ग्यारेन्टी गर्ने कागजात हो । यसको व्यवस्था भयो भने क्रेता र बिक्रेता दुवैलाई सीमापार कारोबारमा आश्वासन र सुरक्षा प्रदान गर्ने उनी बताउँछिन् ।
उनले भनिन्,‘नेपालमा सामानहरु धेरैजसो चाइनाबाट नै आयात भएपनि अन्य देशहरुबाट पनि आयात भइरहेका छन् । विदेशबाट सामान आयात गर्दैगर्दा अन्तर्राष्ट्रिय व्यापारमा नेपाल राष्ट्र बैंकले लेटर अफ क्रेडिटको व्यवस्था गरिदिए राम्रो हुने थियो । विक्रेतालाई खरिदकर्ताको भुक्तानीको ग्यारेन्टी गर्ने कागजात हो । यो व्यवस्था भयो भने क्रेता र बिक्रेता दुवैलाई सीमापार कारोबारमा आश्वासन र सुरक्षा प्रदान हुने थियो ।’ अटो मोबाइल क्षेत्रमा पूर्वनिर्धारित केही पनि नहुने कारण एकसय प्रतिशत नै जोखिम रहेको उनको भनाइ छ । यस जोखिलाई ७५ प्रतिशतमा मात्र झार्न सकियो भने राम्रो हुने उनले बताइन् ।
‘अटो मोबाइल क्षेत्रमा जोखिम एकदमै धेरै हुन्छ । पूर्वनिर्धारित केही हुँदैन् । जोखिम शतप्रतिशत छ । धितोका रुपमा कारहरु राख्ने पनि गरेको पाइन्छ । यसलाई ७५ मा झार्न सकेमात्र राम्रो हुने थियो,’ उनले भनिन्
उनले सरकारले कर बढाउँछ भन्ने सुनेर आयातकर्ताहरुले एकैपटक आयात गर्दा सामान स्टकमा बस्ने समस्या निम्तिएको सुनाइन् । सरकारले कर नीतिको योजना पहिले नै सुनाएमा आयातकर्ता र प्रयोगकर्ता दुवैलाई सहज हुने बताउँछिन् ।
उनले भनिन्,‘धेरै सामान स्टकमा बस्यो भनेर तपाईले भन्नुभयो । तर त्यो किन भयो भन्दा सरकारको के नीति कस्तो आउँछ भन्ने कारणले हो । कर बढ्छ कि बढ्दैँन् भन्ने पूर्वजानकारी नपाएर हो । हामी सबैले सुनेका थियौं २०–३० प्रतिशतले बढ्छ भनेर । त्यो करबाट बच्नको लागि धेरै आयातकर्ताहरुले पहिला नै गाडी मगाए । कर नबढ्दा पनि आयातकर्ताहरुलाई समस्या पर्ने नै भयो । किनभने, एकैपटक धेरै सामान आयो । यही कुरा हामीलाई तीन वा पाँच वर्षको योजना पहिला नै थाहा भयो भने त्यही हिसाबले योजना बनाउछौ । यसरी योजना बनाएर काम अगाडि बढाउने हो भने आयातकर्ता र प्रयोगकर्ता दुवैले कुन गाडी ल्याउने, कुनबेला किन्ने भनेर थहा हुन्छ ।’
धेरै नम्बर भएको गाडी वा मोटर बाइकहरुलाई एसेम्बल गर्नसके आफूहरुलाई फाइदा हुने उनको धारणा छ । जुन ब्राण्डले एसेम्बल गरिरहेको छ तीनिहरुलाई साथ दिनको लागि त्यो क्षेत्रले रोजगारी दिने, सम्बन्धित ब्राण्डको पार्ट स्वदेशमै खपत हुने भएकाले् ति विषयमा समिक्षा गरेर सुरुदेखि प्रोत्साहन दिने हो भने एक अर्काबीचको सम्बन्ध सुमधुर हुने उनको ठम्याइ छ ।
त्यस्तै उनले नेपालमा एक्स्पोहरु आयोजना गर्न पर्याप्त क्षेत्र नभएको गुनासो समेत गरिन् । काठमाडौंको भृकुटीमण्डपमा एउटा मात्र प्रदर्शनको क्षेत्र हुँदा समस्या भएको भन्दै उनले त्यसको विकल्पमा अन्य क्षेत्रको निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,‘नाइमा यतिबेला महत्वपूर्ण काममा जुटेको छ । अटोसोको कमिटीहरु सक्रिय छन् । उहाँहरु धेरै नै व्यस्त हुनुहुन्छ । तर नेपालमा भेन्यूको अभाव छ । त्यसको व्यवस्थाप सरकारले गर्नुपर्छ ।’
उनले काठमाडौंको भृकुटीमण्डमा साउन २१ गते देखि २४ गतेसम्म सवारी साधनहरुको एक्सपो आयोजना गर्न लागेको जानकारी दिइन् । उनका अनुसार एक्सपोमा ४८ वटा स्टलहरु राखिने भएकाले ५० वटा ब्राण्डहरु आइसकेको बताइन् । एक्सपोमा विभिन्न प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमहरु समेत राख्ने उनले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here